Incident Reports

सर्लाहीमा एक पुरुषमाथि पेट्रोल छर्केर आगो लगाई मार्ने प्रयास

2021-05-03

Madhes, Sarlahi, Ishworpur, Ward 12

सर्लाही :

ईश्वरपुर नगरपालिका-१२ मा घारीबथानमा आज एक जनामाथि पेट्रोल छर्केर एक पुरुषले ज्यान लिने प्रयास गरेका छन्।घारीबथानस्थित नयाँटोलका ५८ वर्षीय शियाशरण रायलाई सोही ठाउँका शिवजी साहले शरीरमा पेट्रोल छर्केर आगो लगाएका प्रहरीले जनाएको छ।

आगोले जलेर गम्भीर घाइते शियाशरणलाई उपचारका लागि तत्कालै धनुषाको लालगढ पुर्‍याइएको थियो। घाइतेको त्यहाँ उपचार हुन नसकेपछि सामान्य उपचारपश्चात थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ।

शिवजी हिजो मात्रै दुबईबाट घर आएका बुझिएको छ। पेट्रोल छर्केर आगो लगाउने साह फरार छन्। प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसिइबीका कारण शिवजीले शियाशरणको ज्यानै लिने उद्देश्यले घटना घटाइएको पाइएको प्रहरीले जनाएको छ।घटनामा संलग्न साहको खोजी कार्य तीव्र पारिएको केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।

Update

पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।सर्लाही ईश्वरपुर नगरपालिका-१२ घारीबथानस्थितका शिवजी साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई शनिबार मलंगवा नगरपालिका-५ भाडसरस्थित नेपाल-भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरले जानकारी दिए।

इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरिक्षक जनकराज ढुंगानाको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

साहले आफ्नै छिमेकी ५८ वर्षीय सियाशरण रायमाथि पेट्रोल छर्केर आगो लगाएर हत्या गरेको आरोप छ।डिएसपी कुँवरका अनुसार गत सोमबार बिहान साढे ९ बजे रायलाई घर अगाडिको आँपको बगैंचामा बसिरहेको अवस्थामा शिवजीले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।आगो लगाएपछि सियाशरण गम्भीर घाइते भएका थिए। घाइते उनलाई उपचारको लागि लालगढ मोडल अस्पताल धनुषामा पठाएको थियो।

त्यहाँबाट उनको उपचारको लागि कीर्तिपुर अस्पताल ल्याइएको थियो। उपचारको क्रममा गत मंगलबार बिहान सवा ९ बजे उनको मृत्यु भएको डिएसपी कुँवरले जानकारी दिए।

इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक जनकराज ढुंगानाका अनुसार शिवजी दुबईमा काम गर्थे। उनी त्यहाँ हुँदा आफ्नी श्रीमतीको अर्कै पुरूषसँग सम्बन्ध भएको खबर सुने।

उनकी श्रीमती परपुरूषसँग लागेको भन्ने हल्ला मृतक सियाशरणले फैलाएको भन्दै शिवजी आक्रोशित थिए।बुझ्दै जाँदा उनले श्रीमतीको कुनै अरू पुरूषसँग सम्बन्ध भएको थाहा पाउन सकेनन्।उनी परिवारका कसैलाई नभनी नेपाल फर्किएका थिए। उनी १९ गते नेपाल आएर भाइको ट्याक्सीमा सर्लाही पुगे।

'उनी त्यहाँबाट आउँदा भाइलाई मात्रै खबर गरेछन्। अरू घरका कसैलाई नभनी घर आए,' प्रहरी निरीक्षक ढुंगानाले भने,'घर आउँदा बाटोमा उनले १० लिटर जति पेट्रोल र एउटा जग पनि किनेछन्।'

आरोपित शिवजी साहले आफ्नो गाउँमा बेइज्जत गर्न सियाशरणले अफवाह फैलाएको हुँदा घर आउने बाटोबाटै सियाशरणलाई पेट्रोलले आगो लगाउने सोचेको बयान दिएका छन्। शिवजीले बर्दीबासबाट १० लिटर पेट्रोल किनेका थिए।

घर पुगेको रात पेट्रोल आफ्नै घरमा राखे। उनले भोलिपल्ट बिहान १० पेट्रोल जगमा राखेर सियाशरण बसिरहेको अवस्थामा पछाडिबाट छर्केका थिए।

'पछाडिबाट जगमा ल्याएको पेट्रोल खन्याई काठमा बेरिएको कपडामा लाइटरले जलाएर सियाशरणको शरिरमा आगो लगाएको र आगो दनदन बल्न लाग्दा म भागेको हुँ,' शिवजीले बयानमा भनेका छन्।

घटनापछि मृतकका परिवारले शिवजीसहित तीनजना विरूद्ध जाहरी दिएका छन्। शिवजी, उनकी श्रीमती सुनितादेवी, उनका भाइ लक्ष्मणविरूद्ध जाहरी दिएका छन्।

शिवजी र सुनिता प्रहरी नियन्त्रणमा छन् भने लक्ष्मण फरार छन्। लक्ष्मण पनि छिट्टै पक्राउ पर्ने प्रहरी निरीक्षक ढुंगानाले बताए।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports