Incident Reports

कोभिड महामारीमा पनि वीपी प्रतिष्ठानमा तालाबन्दी

2021-05-08

Province 1, Sunsari, Dharan

कोभिड १९ को महामारीसँग जुध्नुपर्ने समयमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भने आन्तरिक किचलोमा रुमलिनु परेको छ।

कोभिड संक्रमणको दोस्रो लहर तीव्रदरमा वृद्धि भइरहँदा प्रदेश नं. १ कै ठूलो स्वास्थ्य संस्थामा भने आन्दोलन र तालाबन्दीको शृंखलाले अस्थिर बन्दैछ। जुनियर रेसिडेन्ट तथा विद्यार्थीहरुले गरेको तालाबन्दी खुलेको तीनदिन नबित्दै आज शुक्रबार पुनः चारै जना पदाधिकारीको कार्यालयमा तालाबन्दी भएको छ।

विभिन्न माग गर्दै आन्दोलित कर्मचारी कल्याण तदर्थ समितिले उपकुलपति, रेक्टर, अस्पताल निर्देशक र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरे। उनीहरुले मेट्रोनको कार्यालयमासमेत ताला लगाएका छन्।

पदाधिकारीहरुको व्यवस्थापकीय कमजोरी, कमिशन तथा आर्थिक चलखेलको कारण कोभिड अस्पतालबाट राम्रो उपचार सेवा पुर्याउन नसकेको आरोप पदाधिकारीहरुले खेप्दै आइरहेका छन्। कोभिड अस्पतालको उपचार सेवाप्रति सर्वसाधारणहरुले विश्वास गर्न नसकिरहेको बेला प्रतिष्ठानमा भने एकपछि अर्को आन्दोलन र तालाबन्दी जारी छ। इन्टरनेट सेवामा भएको भ्रष्टाचारको बिषयमा प्रतिष्ठानका जुनियर रेसिडेन्ट एवं विद्यार्थीहरुले तीनजना पदाधिकारीको कार्यकक्षमा बैशाख १६ गते तालाबन्दी गरेका थिए। सहमतिपछि बैशाख २१ गते उनीहरुले तालाबन्दी खोलेका थिए।

सुनसरीमा कोरोना संक्रमणको दर उच्च भएपछि प्रशासनले बैशाख ३१ गतेसम्म लकडाउन गरेको छ। प्रतिष्ठान आफै पनि संक्रमणको उच्च जोखिममा रहेकोले आन्तरिक सर्कुलर जारी गर्दै सामूहिक भेटघाट, छलफल गर्न रोक लगाएको छ। तर, आफूहरुको मागबारे कुनै सुनुवाई नभएको र कर्मचारीहरु अन्यायमा परेको कारण आन्दोलनमा उत्रन बाध्य भएको कर्मचारी कल्याण तदर्थ समितिका संयोजक राजन कोइराला बताउँछन्।

उनका अनुसार ज्यान जोखिममा पारेर कोभिडमा खटिएका कर्मचारीहरुले पाउने भत्ता पारदर्शी गरेर काम गरे अनुपातमा सम्पुर्णलाई समानरुपमा वितरण गर्नुपर्ने प्रमुख माग रहेको छ। गत वर्ष कोभिडको पहिलो लहरको बेला खटिएका कर्मचारीहरुले समान रुपमा कोभिड भत्ता नपाएको उनीहरुको गुनासो छ। कतिपयले अझैसम्म पनि भत्ता नपाएको उनले बताए । ‘कसैले एक लाख बढी भत्ता पाए, कसैले २, ४ सय मात्रै पाएका छन्। कोही कोहीले त अझैसम्म पनि भत्ता पाएकै छैनन् । यस्तो असमान कार्य नहोस्, पारदर्शी हुनुपर्छ,’ उनले भने।

यसैगरि, गत आर्थिक वर्षमा वृद्धि भएको २० प्रतिशत तलब यथाशीघ्र एकमुष्ट रुपले उपलब्ध गराउनुपर्ने पनि आन्दोलनरत कर्मचारीहरुको माग छ। यस्तै, कर्मचारीहरुको आन्तरिक फाइल बढुवा विज्ञापन खोल्नुपर्ने, ज्यालादारी कर्मचारीहरुलाई करार तथा परफरमेन्स करार गर्नुपर्ने र कर्मचारी कल्याण समाजको निर्वाचन तत्काल गर्नुपर्ने आन्दोलनरत कर्मचारीहरुले माग राखेका छन्।

तदर्थ समितिले वैशाख १४ गते पदाधिकारीहलाई ज्ञापन पत्र बुझाए पनि सुनुवाई नभएपछि तालाबन्दीमा उत्रन बाध्य भएको उपाध्यक्ष किरण भट्टराईले बताए। उनले आक्रोश पोख्दै भने, ‘हामीले ज्यान जोखिममा पारेर कोभिडमा खटियौं । तर, जोखिम भत्ता छैन । जो वरिपरी पनि पुगेको छैन, उनीहरुले १ लाख ४० हजार पाउँछन् । यस्तो किन हुन्छ ?’ कोभिड अस्पतलामा खटिएका कर्मचारीहरुलाई प्रतिष्ठानले क्वारेन्टिनमा राख्ने व्यवस्था नगरेकोमा पनि कर्मचारीहरुले आक्रोश पोखेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Secondary Cause Government Relief
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments