Incident Reports

विराट अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण

2021-05-17

Province 1, Morang, Biratnagar

विराटनगर / मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि एउटा समूहले कुटपिट गरेको छ ।अस्पतालका कर्मचारी सुनील देवका अनुसार आकस्मिक कक्षमा छिरेर चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोश बस्नेतमाथि सोमबार राति आक्रमण गरिएको हो ।

कोसी राजमार्गअन्तर्गत बूढीगङ्गा–३ मा भएको दुर्घटनामा परेर घाइते भई ल्याइएका दुई जनाको उपचार गरिरहेका बेला रेग्मी र बस्नेतमाथि एउटा समूहले लगातार कुटपिट र आक्रमण गरेको जानकारी देवले दिए ।

आक्रमणबाट डा. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते अवस्थाका दुवै जनाको विराटमै उपचार भइरहेको जानकारी देवले दिए ।

चिकित्सकमाथि नै आक्रमण हुन थालेपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो । आकस्मिक कक्षको उपचारसमेत केही बेर प्रभावित बनेको देवको भनाइ छ । आक्रमणपछि गम्भीर अवस्थाका बिरामीले केही बेर उपचारसमेत पाउन नसकेको उनले बताए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितका चार÷पाँच जनाको सङ्ख्यामा रहेको समूहले घटना गराएको हो । अरु नै बिरामीको उपचारमा व्यस्त रहेका बेला आकस्मिक कक्षमा छिरेर आक्रमण गरिएको उनको भनाइ छ । दुवै जनामाथि लगातार लात्ता र मुक्का प्रहार गरिएको राईले बताए ।

प्रहरीका अनुसार आक्रमण भएका बेला चिकित्सक र स्वास्थ्यकर्मी दुर्घटनाका घाइतेको उपचारमा व्यस्त थिए । प्रहरीका अनुसार प्र १–०२–०४५ प ६०८७ नम्बरको मोटरसाइकलले साँझ ७ः४५ बजेतिर ५० वर्षीय बालकुमार बस्नेतलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । गम्भीर अवस्थाका बस्नेतको उपचार अस्पतालको आकस्मिक कक्षमा भइरहेको थियो ।

उनको राति ९ बजेतिर उपचारकै क्रममा मृत्यु भएको जानकारी डीएसपी राईले दिए । उनका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय समराज्य चौधरी पनि घाइते भएका थिए । उनको विराटमै उपचार भइरहेको छ ।

घटना हुनुभन्दा केही बेरअघि मात्रै बूढीगङ्गा–२ की ७३ वर्षीया वृद्धा गोमादेवी श्रेष्ठलाई उपचारका लागि परिवारका सदस्य र आफन्तले अस्पताल ल्याएका थिए । उनको उपचार ढिलो गरिएको भन्दै आक्रोसित बनेको समूहले चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै आक्रमण गरेको डीएसपी राईको भनाइ छ ।

मधुमेहको पुरानै समस्या रहेकी वृद्धालाई स्वास्थ्य थप बिग्रिएको भन्दै उपचारका लागि ल्याइएको थियो । आक्रमणमा संलग्न समूहले अस्पतालका सुरक्षा गार्डसँग पनि विवाद गरेको प्रहरीको भनाइ छ । त्यहाँबाट आकस्मिक कक्षमा छिरेको समूहले दुर्घटनाका गम्भीर घाइतेको उपचारमा रहेका चिकित्सकमाथि आक्रमण गरेको हो ।

सामान्य अवस्थाकी वृद्धाको उपचारमा पाँच मिनेटजति ढिलो हुँदा चिकित्सक र स्वास्थ्यकर्मीले आक्रमणको सामना गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ । अस्पतालले बिरामीको उपचारमा अहोरात्र खटिनेहरुमाथि आक्रमण गरिएको घटनामा संलग्न सबैलाई कडा कारबाहीको माग गरेको छ ।

प्रहरीले घटनामा संलग्न निश्चल र अनिललाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान थालेको छ । डीएसपी राईका अनुसार घटनामा संलग्न केही व्यक्ति फरार रहेका कारण खोजी तीव्र पारिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
Total Injured 2
Youth Injured n/a
National/Online Media

0 Comments

Related Reports