Incident Reports

बालविवाह अन्त्य गर्न सरकारद्वारा अन्तरराष्ट्रियस्तरमा प्रतिबद्धता l

2014-07-23

Bagmati, Kathmandu, Kathmandu

Ramesh Prasad Timilsina बालविवाह अन्त्य गर्न नेपाल सरकारका तर्फबाट महिला बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसीले पाँचबुँदे सङ्कल्पमा प्रतिबद्धता जनाएकी छन् । बालविवाह उन्मूलन गर्ने विश्वव्यापी प्रयासको समर्थन गर्दै साउन ६ गते संयुक्त अधिराज्यको लण्डनमा आयोजित 'महिला यौनाङ्ग छेद्न र शीघ्र, जबरजस्ती तथा बालविवाह' विषयक पहिलो उच्चस्तरीय बालिका शिखर सम्मेलनमा नेपालले सो प्रतिबद्धता व्यक्त गरेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले जनाएको छ । सम्मेलनमा नेपालका तर्फबाट भाग लिदै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री नीलम केसीले नेपालले बालविवाहलाई दण्डनीय अपराधका रुपमा ग्रहण गर्ने र बालविवाहबिरुद्धको प्रयासमा नयाँ पुस्तालाई प्रेरित गर्नका लागि युवा वर्गसँग नवीन ढङ्गले कार्य गर्नर् सङ्कल्प गरेको मन्त्रालयले जनाएको छ । साथै उनले बालविवाह अन्त्य गर्न र यस लक्ष्यलाई हासिल गर्न आवश्यक प्राविधिक तथा आर्थिक श्रोत उपलब्ध गराउन नेपाल सरकार सरोकारवाला सङ्घसंस्थासँग काम गर्न प्रतिबद्ध रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालमा महिला यौनाङ्ग छेद्न मुद्दा होइन, तर दुभाग्यवश मुलुकमा बालविवाह व्याप्त छ, १५ देखि १९ वर्षका २९ प्रतिशत बालिकाको बालविवाह हुने भन्दै मन्त्री केसीले बालविवाह अन्त्य गर्न नेपालले बहुक्षेत्रीय राष्ट्रिय रणनीति पनि तयार गरिरहेको बताएकी छन् । उनले सो सम्मेलनमा नेपालमा १५ देखि १९ वर्षका १० बालिकामध्ये करिब तीन जनाले बालविवाह गर्ने र १० बालिकामध्ये चार जनाले १८ वर्षनपुग्दै विवाह गर्ने गरेको जानकारी गराएकी थिइन् । मन्त्री केसीले नेपालमा बालविवाह गैरकानुनी अभ्यास भएको र छोरी परिवारको बोझ हो भन्ने सोचका कारण प्रायः बालविवाह हुने गरेको जानकारी गराउँदै यसलाई नियन्त्रण गर्न सरकारका वाषिर्क बजेट तथा कार्यक्रमसँग जोडेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको जारी विज्ञप्तिमा उल्लेख छ । रमेशप्रसाद तिमल्सिना

0 Comments