Incident Reports

हत्या अभियोगमा माओवादी नेता पक्राउ l

2014-07-28

Lumbini, Arghakhanchi, Sitganga

अर्घाखाँची, श्रावण १४ - चार वर्षअघि भएको एक जनाको हत्या आरोपमा नेकपा-माओवादीका जिल्ला नेता भोलानाथ बस्याल पक्राउ परेका छन्। ०६७ असार ३२ मा पाल्पाको देउराली ५ का आफ्नै पार्टीका नेता यज्ञप्रसाद आचार्यलाई कुटपिट गरेर हत्यापछि उनी फरार थिए। आचार्यकी पत्नी लक्ष्मीले उनीसहित पाँच जनाविरुद्ध इलाका प्रहरी बुटवलमा किटानी जाहेरी दिएकी थिइन्। ठाडाको चक्लास्थित जिल्ला सदस्य होमबहादुर रायमाझीको घरमा सुतिरहेका बेला प्रहरीले बस्याललाई सोमबार राति पक्रेको हो। घटनामा संलग्नता आरोपमा माओवादीकै पाल्पाको छहराका गोविन्द खत्री, देभानका खगेन्द्र केसी र रुपन्देही परुवाका द्रोण जीसीलाई प्रहरीले गत फागुनमा पक्राउ गरेको थियो। तीनै जना पुर्पक्षमा थुनामा छन्। अझै दुई फरार रहेको प्रहरीले जनाएको छ। व्यापारीसँग उठाएको चन्दा बाँडफाँडमा कुरा नमिल्दा आचार्यको हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। रुपन्देहीको रामापुर घर भएका बस्याल दुई वर्षदेखि अर्घाखाँचीमा सक्रिय थिए। नेकपा-माओवादीको प्रथम जिल्ला अधिवेशनबाट सहसेक्रेटरी बनेका उनी त्यसअघि जिल्ला इन्चार्ज थिए। जिल्ला प्रहरी प्रमुख डीएसपी दीपेन्द्र जिसीका अनुसार बस्याललाई मंगलबार इलाका प्रहरी बुटवलमा बुझाइएको छ। माओवादी जिल्ला सेक्रेटरी भेषराज भुसालले पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको र घटनामा बस्यालको संलग्नता नरहेको दाबी गरे।

0 Comments

Related Reports
Related Trend Analysis