Ishwari Kafle
गोनरपुरा गाविस -९ की ३१ वर्षीया ममता कुमारी यादवलाई दाइजो थोरै ल्याएको भन्दै घर निकाला गरेपछि पति ३५ वर्षीय पंकज यादवविरुद्ध पीडितले ०७१ साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।
पंकजसँग ममताको विवाह ०६५ सालमै भएको र सोही समयदेखि दाइजोको नाममा विवाद शुरु भएको ममता बताउँछिन् । बिहे गरेपछि लगातार १५ दिन कहिल्यै घरमा बस्न नदिएको बताउँदै कुटपिट गरी पटकपटक घरनिकाला गरेको पीडितले बताइन् ।
माइती घर भारत बिहारको सितामढी जिल्लाको बेला थाना अर्न्तर्गत सुरसण्डमा बस्दै आएकी ममताका अनुसार माइती भारत भएकैले नेपालको नियम कानुन थाहा नहुनु र भाषाको समस्याका कारण पनि समयमै उजुरी दिन नसकिएको हो ।
जिल्ला प्रहरी कार्यालय महिला सेलकी प्रमुख रमा थापाले भोलीनै ममताका पतिलाई झिकाउन प्रहरी लागिसकेको बताइन् ।