Incident Reports

बालिका बेचविखनको आरोपमा एक भारतीयसहित तीनजना हिरासतमा l

2014-07-30

Gandaki, Tanahun, Bhanu

Prakash Chandra Bhattarai तनहुँ । ०७१ साउन १४ गते, मानव बेचविखन गरेको अभियोगमा एक भारतीय नागरिकसहित तीन जनालाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको छ । व्यास नपा-२ मालेबगर लगायतका स्थानका १५ देखि १८ वर्षका पाँच जना बालिकाहरूलाई आर्थिक प्रलोभनमा भारत पुर्‍याई बिक्री गरेको पीडितको उजुरीको आधारमा प्रहरीले भारत मोतीहारी जिल्लाका सुदन पासवान, उनकी पत्नी जामुने गाविस माइती भएकी २१ वर्षीय विष्णु सुनार र जामुने गाविस घर भई व्यास नपा-११ मा डेरा गरी बस्ने २१ वर्षीया संगिता परियारलाई साउन ६ गते प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको हो । अर्का अभियुक्त भने हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्तहरूले पीडितहरूलाई पालै-पालो ०७० असार २८ गते र २०७० पुस ७ गते आर्केस्टामा नाच्नको लागि भन्दै भारतको मोतिहारी पुर्‍याएका थिए । प्रहरीसँगको बयानमा पीडितहरूले आफुलाई दिनभर नाँच्न लगाउने राति यौन कार्यमा संलग्न हुन बाध्य गराएको बताए । जिल्ला प्रहरी कार्यालय तनहुँका मुद्दा शाखाका सई भवानीप्रसाद धमलाका अनुसार पीडितले साउन ४ गते भारतबाट भागेर आई बारा जिल्लामा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयमा सर्म्पर्क गरेका थिए । सशस्त्र प्रहरीमार्फत माईती नेपालको सर्म्पर्कमा पुगेका पीडितहरू बारा प्रहरीको सहयोगमा साउन ६ गते दमौली आएका थिए । दमौली आएपछि पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा प्रहरीले अभियुक्तहरूलाई गिरफ्तार गरेको थियो । अभियुक्तहरू हाल अनुसन्धानको लागि प्रहरी हिरासतमा रहेका छन् भने पीडितहरू सबै परिवारको जिम्मामा रहेको प्रहरीले जनाएको छ । फरार एक अभियुक्तको खोजी कार्य भने जारी रहेको र गिरफ्तार भएका अभियुक्तहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अर्न्तर्गत मुद्दा गरिएको सई धमलाले बताए । प्रकाशचन्द्र भट्टराई

0 Comments