Incident Reports

मृगौला पीडितहरुद्वारा माग पुरा नभए आत्मदाह गर्ने चेतावनी l

2014-07-30

Bagmati, Kathmandu, Kathmandu

Bibek Dhungana काठमाडौँ । ०७१ साउन १४ गते,राष्ट्रिय मृगौला पीडित सङ्घको अगुवाईमा ५२ दिनदेखि रिले अनशनरत पाँच जना मृगौला पीडितहरुले तत्काल आफ्ना माग पुरा नभए आत्मदाह गर्ने चेतावनी दिएका छन् । मृगौला पीडितहरुको स्वास्थ्य उपचारको लागि विभिन्न माग राखि अनशन बस्दै आए पनि हालसम्म कुनै पनि सरकारी निकायले औपचारिक रुपमा वार्ताको आहृवान समेत नगरेकोले आफूहरुलाई सरकारले अवहेलना गरेको भन्दै साउन २० गतेभित्र आफ्ना मागहरु पुरा नभए सोही दिन स्वास्थ्य मन्त्रालयको गेट अगाडि आत्मदाह गर्ने मृगौला पीडितहरुले चेतावनी दिएका हुन् । मृगौला पीडित सङ्घका अध्यक्ष चिन्तामणी पोखरेलले मृगौला उपचार गराउँदा आर्थिक क्षति धेरै हुने र उपचारको अभावमा मर्नु बाहेकको विकल्प नरहेकोले भविष्यका पीडिलाई समेत यस अवस्था सिर्जना आउन नदिन मृगौला पीडितहरु आत्मदाह गर्न तयार भएको बताए । मृगौलाका पीडितहरु बारा जिल्ला निजगढ गाविस-७ का ६३ वर्षीय चिन्तामणी पोखरेल, बाग्लुङ जिल्ला पाण्डबखानी गाविस-६ का ५१ वर्षीय गिरीप्रसाद पुन, भक्तपुर नपा-८ की गीता श्रेष्ठ, रामेछाप जिल्ला खाँडादेवी गाविस-९ का ४१ वर्षीय आसमान तामाङ, रुपन्देही जिल्ला बुटवल नपा-४ का प्रेमबहादुर विकले सामुहिक आत्मदाह गर्ने चेतवानी दिएका हुन् । काठमाडौँको शान्तिवाटिकास्थित मृगौला पीडितहरुको अनशनका बारे जानकारी लिन पुगेका इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधिसँग कुराकानी गर्दै सङ्घका अध्यक्ष पोखरेलले सरकारी अस्पताललाई मृगौला उपचारको लागि भौतिक रुपमा सक्षम भनाइए थोरै खर्चमा डायलोसिस सेवा प्रदान गर्न बताए । उनले एक पटक मृगौलाको डायलोसिस गर्दा प्रतिव्यक्ति तीन हजार रुपिया लाग्ने र क्रमश ५ सय ८०, १ हजार १ सय ८०, ५ सय ८० गर्दै पाँच पटकसम्म सस्तोमा डायलोसिस गर्न सकिने र छैटो पटक पुनः ३००० हजार रुपियमा लाग्नेमा अस्पतालले भने प्रत्येक पल्ट ३००० रुपियाको दरले बिरामीसँग पैसा लिने गरेको गुनासो गरेका छन् । "डाइलोसिस गर्दा गर्दा कसरी डायलोसिस गर्ने भन्ने मृगौला पीडितहरुले जानिसकेका छन्, घरमै बसेर पनि हामी डायलोसिस गर्न सक्छौँ । त्यसैले सरकारले तुरुन्त होमो डाइलोसिस सेवा प्रदान गर्नुपर्छ । जुन सस्तो हुन्छ ।" अध्यक्ष पोखरेलले भने । उनले बिरामीहरुलाई मानवअङ्गको वीमा गर्न दिइनुपर्ने र त्यसबाट सङ्कलित रकम सरकार र गैरसरकारी संस्थाहरु सम्मिलित कोषको स्थापना गरी रोग्ाीहरुको उपचारका लागि खर्चिनुपर्ने सुझाव पनि दिए। मृगौला पीडितहरु जेठ २७ गतेदेखि रिले अनसन बस्दै आएका छन् । अनसनका क्रममा पीडितहरु श्याम खड्गीको असार ३ गते, श्याम खत्री क्षेत्रीको असार १६ गते, नातिभाई डङ्गोलको असार ३० गते, पशुराम श्रेष्ठको असार ३१ गते र सार्कवीर तामाङको साउन ३ गते मृत्यु भइसकेको छ । सम्पूर्ण मृगौला रोगीलाई आजीवन निशुल्क डाइलोसिस सेवा निरन्तर दिइनुपर्ने, मृगौला प्रत्यारोपण सम्भव भएका बिरामीलाई तुरुन्त र निशुल्क प्रत्यारोपण गरिनुपर्ने, औषधी सेवन तथा विभिन्न प्रयोगशाला निशुल्क गरिनुपर्ने, मृगौला रोगीलाई अपाङ्गतामा सूचिकृत गरी गाँस, बास, कपाससहीत रोजगारीको सुनिश्चितता गरिनुपर्ने मृगौला पीडितहरुको माग रहेको छ । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis