Incident Reports

डोटीमा आमाको नाम थरबाट नागरिकता दिन प्रशासनको आनाकानी – इन्सेक

2021-09-29

Sudurpashchim, Doti, Sayal, Ward 1

जिल्ला प्रशासन कार्यालयले बाबुको नागरिकता अनिवार्य चाहिने भनेपछि सायल गाउँपालिका–१ छपालीकी २० वर्षीया सुशीला रोकाया नागरिकता प्रमाणपत्र नबनाइ फर्किन बाध्य हुनु भएको छ । रोकायाले आमा र पतिको नागरिकता, आफ्नो जन्मदर्ता प्रमाणपत्र लगायत पेश गर्दा पनि नागरिकताको प्रमाणपत्र नपाएको आरोप लगाउनु भएको छ । सुशीलाका बुबा रोजगारीका लागि भारत पसेको एक दशकभन्दा बढी भइसक्यो । उहाँ पाँच वर्षदेखि परिवारको सम्पर्कमा हुनुहुन्न । उहाँले नेपाली नागरिकताको प्रमाणपत्र लिएनलिएको पनि थाहा नभएको सुशीलाका आफन्त गणेश रोकायाले बताउनु भयो । ‘कि बुबाको नागरिकता अनिवार्य चाहियो, कि त वडा मुचुल्का चाहियो’ भन्दै फर्काएको उहाँले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले यसरी दुःख दिएको यो पहिलो घटना नभएको छपालीकै धनबहादुर नेपाली बताउनुहुन्छ । नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ को परिच्छेद–२ को बुँदा नम्बर ३ अनुसार वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्नका लागि बाबु वा आमाको नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस वा जन्मदर्ता प्रमाणपत्र र तीन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित पत्र पेश गर्नुपर्ने व्यवस्था छ । यस्तै विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र, पति वा ससुराको नागरिकताको प्रमाणपत्र, पति, सासू, ससुरा, जेठाजु वा देवरमध्ये कसैको सनाखत र माइतीपट्टिको आमा, बाबु, दाजु वा भाइको नागरिकताको प्रतिलिपि पेश गर्नु पर्ने निर्देशिकाको ४(५) मा व्यवस्था छ । निर्देशिकाले बुबाको नागरिकतालाई अनिवार्य नबनाएको भए पनि आफूहरुले अनिवार्य बनाएको डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनु भयो । नागरिकताकै कारण कर्मचारीहरूले अख्तियारमा तारेख लगाउनु पर्ने अवस्था आएको उहाँको भनाइ छ । उहाँले बुबाको नागरिकता प्रमाणपत्र नभए वडाको मुचुल्का ल्याउन भनेर पठाएको जानकारी दिनु भयो । उहाँले बुबाको नागरिकता प्रमाणपत्र नभए वडाको मुचुल्का ल्याउन भनेर पठाएको जानकारी दिनु भयो । नागरिकतासम्बन्धी ऐन, नियम र निर्देशिका २०६३ कै कायम रहेको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङ बताउनुहुन्छ । माइती पक्षको आमा, बुवा, दाजु वा भाइमध्ये कुनै एकको नागरिकता पेश गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको सूचना अधिकारी तामाङले बताउनु भयो । छपाली डोटी जिल्लाकै दुर्गम ठाउँ हो । छपालीबाट एक दिनभरि कच्ची सडकको यात्रापछि मात्रै जिल्ला सदरमुकाम पुगिन्छ । एक दिन आउने, एक दिन जाने र एक दिन नागरिकता प्रमाणपत्र बनाउने तीन दिन नागरिकता बनाउनकै लागि खर्च गर्नुपर्ने बाध्यतामा रहेकी सुशीलाले रित्तो हात घर फर्कनु पर्दा नरमाइलो लागेको सुनाउनु भयो ।


0 Comments

Related Trend Analysis