Incident Reports

बागचौरमा महिलाको हत्या, सुरक्षा चुनौती बढेको सरोकारवालाको भनाइ – इन्सेक

2021-10-04

Karnali, Salyan, Bagchaur, Ward 2

बागचौर नपा–२ गैरी निवासी ५४ वर्षीया रामकली खत्रीको हत्या ०७८ असोज १५ गते गरेको भनिएको घटनाको अनुसन्धान शुरू भएको प्रहरीले जनाएको छ ।घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले असोज १७ गते तीन जनालाई गिरफ्तार गरेको छ । अनुसन्धानकै लागि भनेर असोज १७ गते दिउँसो नेपालगञ्जबाट तालिमप्राप्त कुकुर ल्याइएको जिल्ला प्रहरी कार्यालय, सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिनुभयो ।

असोज १७ गते बेलुका करिब साढे पाँच बजे कुकुरसहित जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर अर्जुन पौडेलको नेतृत्वमा इन्सेक जिल्ला प्रतिनिधि सहितको टोली घटनास्थल पुग्यो । कौतुहल भएका स्थानीयको भीडको बिचमा शव रहेको स्थानमा कुकुरलाई घटना भएको स्थान र शव सुङ्घाइयो । गन्ध सुङ्घाएपछि कुकुर घटनास्थलबाट मृतकको घरसम्म पुगेर घटनास्थलमा फर्कियो । घटनास्थलको प्रकृति हेर्दा शवको अवस्था कसैले हत्या गरेको हुनसक्ने अनुमान लगाउन सकिन्थ्यो । मृतकको दाहिने खुट्टामा काटिएको घाउ, टाउकोको बायाँ कानको भागमा चोट लागेको, बायाँ हात भाँच्चिएर हड्डि बाहिर निस्केको, बायाँ खुट्टाको घुडामुनि भाँच्चिएको जस्तो देखिएको थियो । घाँटीमा समेत चोट लागेको र बायाँ हात कुमको जोर्निबाट फुत्कीएको अवस्थामा थियो । यस्तै मृतकको पछाडिको भागमा निलडाम समेत देखिएको थियो । जुन प्रहरीको घटनास्थल मुचुल्कामा समेत उल्लेख छ ।

मृतकको घर र माइतीको दुरी करिब चार किलोमिटरको फरकमा छ । हिडेर करिब २०/२५ मिनेटमा पुग्न सकिन्छ । मृतकका कान्छा छोरा मानबहादुर केसीले आमा करिब चार बजेतिर घरबाट निस्किएको बताउनुभयो । मृतकको शव भएको बाटो हुँदै बेलुका करिब ७ बजेतिर सोही बाटोबाट डोजर हिडेको स्थानीयको भनाइ छ । तर, हत्या कति बजे भयो भन्ने अझै भन्न सकिने अवस्था छैन् । शव भएको बाटो भएर डोजर हिडेको कारण चालक र अन्य दुईजनालाई आशङ्का गरिएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ शुरू गरिएको जनायो ।

शवमा चोट पटक लागेको र हात खुट्टा भाँचिएको जस्तो देखिए पनि पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धानमा थप सहज हुने प्रहरीको भनाइ छ । मृतक महिलाको शवलाई उनले ओडेकै सलले छोपेको, चप्पल र पछ्यौरी शव भएको ठाउँबाट केही दुरीमा भेटिएको थियो । प्रहरीका अनुसार घटनाबारे थप विवरण आउन बाँकी नै छ ।

पीडित पक्षले असोज १९ गते जिल्ला प्रहरी कार्यालय, सल्यानमा घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको माग गर्दै उजुरी दिएका छन् । घटनामा संलग्न भएको आरोपमा गिरफ्तार गरेका तीन जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

सल्यानमा पछिल्लो तीन महिनामा ४६ ओटा अपराधका घटना भएको जिल्ला प्रहरी कार्यालय, सल्यानको तथ्याङ्कमा उल्लेख छ । जसअन्तर्गत कर्तव्य ज्यान सम्बन्धि दुई, ज्यान मार्ने उद्योग चार, भवितव्य पाँच, विष सेवन गरी आत्महत्या तीन, झुण्डिएर मृत्यु ११ रहेका छन् ।

यस्तै साधारण चोरीको १, हातहतियार तथा खरखजनाको २, बहु विवाहको ३, बाल विवाह १, जबरजस्तीकरणीका ६, जबरजस्ती करणी उद्योग ३, बोक्सी आरोपको १, अभद्र व्यवहार ३ र आत्महत्या दुरूत्साहनको १ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ती मध्ये घटनामा संलग्न भएको आरोपमा ३९ जनालाई गिरफ्तार गरेको र पाँच जना फरार रहेको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिनुभयो । उहाँका अनुसार फरार रहेकाको पनि खोजी भइरहेको छ ।

नेपालको संविधानले नागरिकको पहिलो मौलिक हकमा सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई राखेको छ । तर पछिल्लो समयमा सल्यानमा सुरक्षा चुनौती बढेको सरोकारवाला बताउँछन् ।

अधिकारकर्मी निमबहादुर नेपालीका अनुसार जिल्लाको प्रमुख सुरक्षासँग जोडिएको प्रहरी प्रशासनले आफ्नो तहबाट प्रभावकारी ढङ्गबाट काम गरेपनि विभिन्न बहानामा अभियुक्तहरू फुत्किने गरेको बताउनुभयो ।

यस्तै अधिवक्ता विष्णु शर्माले सुरक्षा चुनौतीलाई कम गर्न आम नागरिक, नागरिक समाज, राजनीतिक दल, लगायतको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । ‘अपराधिक कृयाकलापमा संलग्न भएपनि पावर वा पैसाको भरमा छुटकारा पाइहाल्छ भन्ने सोचको कारण अपराधिक कृयाकलापले प्रश्रय पाएका छन्, यसमा हामी सचेत हुन जरूरी छ’ उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले शान्ति, सुरक्षा कायम राख्न प्रहरी प्रशासन प्रतिबद्ध भएर लागेको बताउनुभयो । उहाँले समाजमा भएका घटना न्यूनीकरण गर्न र पीडितलाई न्याय दिने विषयमा प्रहरी प्रशासन सक्रिय रूपले लागेको बताउँदै यदि कसैले पीडितलाई घटना लुकाउने गरी न्यायलाई प्रभावित बनाउन खोज्छ भने त्यस विषयको सूचना दिन आग्रह गर्नुभयो ।

पीडितको पक्षमा सधै आफूहरू उभिएको भन्दै उहाँले समाजमा लुकेर रहेका घटनालाई उजागर गर्न सचेत नागरिकको हैसियतले सबै लाग्नु पर्ने बताउनुभयो ।

पाल्पा जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका यज्ञमुर्ति तिमिल्सिना २०७८ भदौ महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ जिल्लाका समसामयिक मानव अधिकार सवालमा पैरवी गर्न र आर्थिक, सामिजक तथा सांस्कृतिक अधिकारका विषयमा समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments

Related Reports