Incident Reports

भारत लाँदै गरेका दुई किशोरीको उद्धार l

2014-08-13

Lumbini, Rupandehi, Siddharthanagar

Amrit Giri रुपन्देही । ०७१ साउन २८ गते मानव बेचबिखन तथा ओसार पसार विरुद्ध जिल्लाव्यापी सचेतना कार्यक्रमहरु भइरहे पनि सुनौली नाकाबाट फेरि दुई किशोरीलाई बेचबिखनका लागि भारत लैजाने प्रयास भएको छ । तर, प्रहरीको सक्रियताले साउन २८ गते पीडित दुवै किशोरीको सीमा नाकाबाट उद्धार भएको छ । उद्धार भएका किशोरीको उमेर १७ र १८ वर्षरहेको प्रहरीले जनाएको छ । प्रहरीले किशोरीका अभिभावकलाई बोलाइ उनीहरुलाई जिम्मा लगाइने बताएको छ । ती दुवै किशोरीलाई भारतमा लैजान लागेका दलालसमेतलाई प्रहरीले गिरफ्तार गरेको छ । सीमानाकाबाट भारत कटाउन लागेको अवस्थामा दुई दलाललाई गिरफ्तार गरी किशोरीको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक विक्रमसिंह थापाले बताए । प्रहरीले किशोरी बेच्न लागेको आरोपमा नुवाकोट जिल्लाको शिखरबेशी गाविस-६ का १९ वर्षीय कृष्ण तामाङ र सोही जिल्लाको रालुकादेवी गाविस -३ निवासी २६ वर्षीय सञ्चा तामाङलाई साउन २८ गते नै बेलहियाको सुनौलीबाट गिरफ्तार गरेको हो । सीमानाकामा खटिएका प्रहरी र साना हातहरु नेपालका नामक संस्थाका कर्मचारीले शंका लागि किशोरीहरुसित सोधपुछ गर्दा बेचबिखनको उद्देश्यले भारत लैजान लागेको थाहा भएको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरिक्षक प्रदीप क्षेत्रीले बताए । घरको लालपुर्जा लिन हेटौंडा जाँदा विश्वासिलो युवती चाहिने भन्दै काठमाडौँबाट ती किशोरीलाई झुक्याएर यता ल्याइएको प्रहरीले बताएको छ । गिरफ्तार परेका आरोपितहरु माथि मानव बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्दा दर्ता गर्न अनुसन्धान जारी रहेको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक क्षेत्रीले बताए । अमृत गिरी

0 Comments