Incident Reports

पोखरामा धर्ना बसेका विद्यार्थीमाथि लाठीचार्ज, १२ जना नियन्त्रणमा – Online Khabar

2021-12-10

Gandaki, Kaski, Pokhara Lekhnath

२६ मंसिर, पोखरा । कक्षा १२ को नतिजामा असन्तुष्टि राख्दै विद्यार्थीहरुले एक हप्तादेखि गरिरहेको आन्दोलनमा आइतबार प्रहरीले हस्तक्षेप गरेको छ ।प्रदेश परीक्षा व्यवस्थापन बोर्ड कार्यालय, पोखरामा धर्ना बसेका विद्यार्थीलाई प्रहरी कुटपीट गर्दै १२ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको हो ।राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाको नतिजाप्रति असन्तुष्ट कानुन संकायका विद्यार्थीले आफूमाथि अन्याय भएको भन्दै एक हप्तादेखि बोर्डको कार्यालयमा आन्दोलन गरिरहेका हुन् ।

आफूले लेखेको भन्दा कम अंक दिइएको र जाँचकले हेलचेक्र्याइँ गरेकाले त्यसको छानबिन हुनुपर्ने माग विद्यार्थीको छ । उनीहरुले आफ्नो उत्तरपुस्तिका पुनः जाँच हुनुपर्ने र त्यसमा लाग्ने समय र आर्थिक खर्चसमेत कम गराउनुपर्ने माग राख्दै आएका छन् ।उत्तर पुस्तिकाको पुनः जाँच गर्न पहिले प्राप्तांक, पूर्णांक पनि हेर्नुपर्ने बाध्यकारी नियम भएकाले लामो समय लाग्ने र त्यसले आफूहरुको भविष्य नै अन्योल हुने विद्यार्थीको चिन्ता छ ।

स्नातकका लागि विभिन्न विश्वविद्यालयले प्रवेश परीक्षाका लागि आवेदन खुलाउने समय भइसक्दा पनि आफूहरु ‘रिचेक र रिटोटलिङ’को झमेलामा फस्नु परेको विद्यार्थीले दुखेसो पोखेका छन् । एउटा विषयकै पुनः जाँच गर्न ३ हजार रुपैयाँसम्म लाग्ने हुनाले त्यसमा समेत पुनर्विचार गर्न उनीहरुले माग गरेका छन् ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजामा असन्तुष्टि भए पुस ४ गतेसम्म प्राप्तांक पुनर्विचारका लागि निवेदन दिन सक्ने गरी समयावधि तोकेको छ । प्राप्तांक पुनर्विचारका लागि विद्यार्थीले प्रतिविषय ५ सय रुपैयाँ दाखिला गर्नुपर्ने हुन्छ ।

उक्त नतिजामा पनि विद्यार्थीको असन्तुष्टि रहे पुनः परीक्षणका लागि फेरि निवेदन दिनुपर्ने हुन्छ । त्यसका लागि अघिल्लो वर्ष प्रतिविषय २ हजार रुपैयाँ तोकेको थियो । तर, यस वर्ष निर्णय गरिनसकेकाले अन्योल नै रहेको प्रदेश परीक्षा व्यवस्थापन बोर्ड प्रमुख विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

गण्डकीमा ७ वटा विद्यालयमा यसै वर्षदेखि कानुन संकाय पढाइ शुरु भएको थियो । ७ विद्यालयका करिब २ सय जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । त्यसमध्ये कानुनमा उच्च अंक ल्याउने विद्यार्थीको ग्रेड नै ‘बी प्लस’ मात्रै भएको विद्यार्थीले जानकारी दिएका छन् ।

कोरोनाका कारण २ पटकसम्म स्थगित भएको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षा दिएको २ महिनाभित्रै बोर्डले शुक्रबार नतिजा प्रकाशन गरेको हो । कोरोनाका कारण विद्यार्थीले आफू पढेकै स्कुलबाट परीक्षा दिएका थिए । अघिल्लो पटक स्कुल आफैंले परीक्षापत्र जाँच गरेको थियो भने यसपटक बोर्डले नै जाँचेको थियो ।

परीक्षाफलमा असन्तुष्टि राखेर आन्दोलनरत विद्यार्थीमाथि प्रहरी प्रशासनले दमन गरेको भन्दै विभिन्न ७ दल निकट विद्यार्थी संगठनले विरोध गरेका छन् । संयुक्त विज्ञप्तिमार्फत उनीहरुले परीक्षाफल नियोजित रुपमै अनियमितता देखिएकोसमेत आरोप लगाएका छन् ।

अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं) लगायत विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति निकाल्दै घाइते विद्यार्थीको निशुल्क उपचार गर्न र पक्राउ परेका विद्यार्थी तत्काल रिहाइ गर्न माग गरेका हुन् ।

‘शान्तिपूर्ण धर्ना बसिरहेको बेला प्रहरी प्रशासनले विद्यार्थीमाथि निमर्मतापूर्वक लाठी चार्ज र ढुंगा हानेको छ । केही विद्यार्थीलाई कुटपीट गर्दै गिरफ्तार गरिएको छ । उक्त घटनाप्रति संयुक्त विद्यार्थी संगठन घोर भत्र्सना गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रदेश परीक्षा व्यवस्थापन बोर्ड, गण्डकी प्रमुख विष्णुनारायण श्रेष्ठले विद्यार्थीले उठाएका मागप्रति आफूहरु गम्भीर रहेको र त्यसको जानकारी राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयलाई दिइसकेको जानकारी दिए ।

श्रेष्ठले कक्षा १२ को परीक्षामा धेरै विद्यार्थी सामेल भएको उत्तरपुस्तिका प्रदेशमै जाँचिएको र थोरै विद्यार्थी सामेल भएको उत्तरपुस्तिकाले प्रदेशले जाँच नगरी परीक्षा नियन्त्रण कार्यालयलाई नै पठाइएकाले प्राप्तांकबारे आफूहरु अनविज्ञ रहेको बताएका छन् ।

‘थोरै विद्यार्थी भएका विषयमध्ये कानुन विषय पनि थियो । त्यो हामीले यता नजाँचेर सीधै केन्द्रमा पठायौं,’ कार्यालय प्रमुख श्रेष्ठले भने, ‘केन्द्रमा गइसकेपछि पनिकाले कता पठायो, कसरी जाँच गर्‍यो हामीलाई जानकारी हुने कुरा भएन ।’ उनले विद्यार्थीको मागमा आफूहरु गम्भीर रहेको प्राप्तांकबारे तत्काल निर्णय गर्न केन्द्रीय कार्यालय पनि सकारात्मक रहेको जानकारी दिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Excessive Use of Force
Secondary Form Detention of Protesters
Weapons Blunt weapon
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media

0 Comments