Incident Reports

रुकुम पश्चिममा कांग्रेसका वडाध्यक्ष उम्मेदवार र कार्यकर्तामाथि आक्रमण

2022-05-02

Karnali, Rukum West, Aathbiskot, Ward 8

रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट नेपाली कांग्रेसका आठबिसकोट नगरपालिका–८ का वडाध्यक्ष पदका उम्मेदवारसहित चार जना घाइते भएका छन्। कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर बुढा, वडा सदस्य उम्मेदवार रणबहादुर बोहरासहित कांग्रेस कार्यकर्ता मनबहादुर बुढा र अमर बोहरा घाइते भएका छन्। घाइतेहरूको टाउको, ढाड तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल सल्ले लैजाने तयारी भइरहेको छ। वाइसिएलका कार्यकर्ताहरूको समूहले कांग्रेस उम्मेदवार र कार्यकर्तामाथि एकाएक आक्रमण गरेको स्रोतले बताएको छ। घटना आइतबार बिहान ९ बजेतिरको हो। वाइसिएलका कार्यकर्ताले उम्मेदवार बुढा लगायतका कांग्रेस नेताहरूमाथि आक्रमणपछि उनीहरूको घरभित्रको अन्नपात तथा अन्य सामग्रीमा समेत तोडफोड गरेको पीडित पक्षको आरोप छ। घरका ढोकासमेत तोडफोड गरिएको छ। प्रहरी घटनास्थलमा अबेर मात्र पुगेको थियो। स्रोतका अनुसार कांग्रेस कार्यकर्ता अमर बोहराकी श्रीमती दीर्घ रोगी रहेको र उनलाई भेटघाट गर्न पुगेका समयमा उम्मेदवार बुढा लगायतका नेता कार्यकर्तामाथि एकाएक आक्रमण भएको थियो। रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले माओवादी कार्यकर्ताको आक्रमणबाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार लगायत कार्यकर्तामाथि आक्रमण भएको भन्ने खबर आएको जानकारी दिए। डिएसपी सोतीका अनुसार वडाध्यक्ष उम्मेदवार चन्द्रबहादुर बुढा मनोनयन दर्ता हुनुअघि माओवादीका कार्यकर्ता थिए। यही बीचमा कांग्रेस प्रवेश गरेपछि उनले वडाध्यक्षको टिकट पाएका हुन्। ‘आक्रमण राजनीतिक प्रतिशोधका कारण भएको देखिन्छ,’ डिएसपी सोतीले भने, ‘पहिले एउटै पार्टीका नेता-कार्यकर्ताका बीचमा स्थानीय चुनावकै विषयमा विवाद भएको र झडप भएको खबर आएको छ।’ डिएसपी सोतीले घटनास्थल सदरमुकामदेखि झन्डै ७/८ घन्टा पैदल दुरीमा पर्ने हुँदा ढिला गरी खबर आएको र प्रहरी ढिला गरी पुगेको जानकारी दिए। ‘प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ,’ डिएसपी सोतीले भने, ‘वडाध्यक्ष उम्मेदवारको अवस्था सामान्य छ। उहाँका एक जना साथीको भने टाउकोमा चोट रहेको भन्ने छ।’ घटना अनुसन्धानपछि दोषीलाई कारबाही हुने र निर्वाचन भयरहित तथा निष्पक्ष बनाउन प्रहरी प्रशासनले कुनै कसर बाँकी नराख्ने उनले बताए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 4
National/Online Media

0 Comments