Incident Reports

वीरगञ्ज महानगर : उम्मेदवार सरावगी पैसा बाँड्न आएको भन्दै स्थानीयद्वारा विरोध

2022-05-10

Madhes, Parsa, Birgunj, Ward 16

वीरगन्ज । नेकपा (एमाले)बाट वीरगञ्ज महानगरपालिकाका मेयरका उम्मेदवार विजय सरावगी मतदाताको घरमा पैसा बाँड्न आएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेपछि करिब साढे २ घण्टाजति घरमै थुनिनु परेको थियो । वीरगन्ज महानगरपालिका–१६ नगवास्थित रातिको करिब १२ बजे नेपाली काँग्रेसका कार्यकर्ता विनोद चौरसियाको घरमा पुगेको बेला स्थानीयहरुले विरोध प्रदर्शन गर्न थालेपछि उम्मेदवार सरावगीलाई करिब साढे २ घण्टाजति घरमै थुनिनु परेको थियो ।

वीरगन्ज महानगरपालिकामा जसपा, नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एस सम्मिलित ५ दलीय गठबन्धनबाट वीरगञ्जमा राजेशमान सिंह मेयरका उम्मेदवार छन् भने एमाले, लोकतान्त्रिक समाजवादी पार्टीको गठबन्धनबाट विजय सरावगी मेयरका उम्मेदवार छन् । सरावगी नेकपा एमालेको उम्मेदवार भएर विपक्षी ५ दलीय गठबन्धनबाट नेपाली काँग्रेसका कार्यकर्ता विनोद चौरसियाको घरमा रातिको समयमा किन भेट्न आउनुपर्यो ? भन्दै स्थानीयहरुले विनोद चौरसियाको घरलाई घेरा हालेर नारावाजी गर्न थालेपछि विवाद उत्पन्न भएको थियो ।

सरावगी एकजना सहयोगीको साथमा मोटरसाइकलमा चढी नेपाली काँग्रेस पार्टीका क्षेत्रीय प्रतिनिधि समेत रहेका चौरसियाको घरमा प्रवेश गरेको देखेपछि जसपाका कार्यकर्ता तथा स्थानीयहरुले विवाद गरेका थिए । शुरुमा सरावगी आएका छैनन् भनेका चौरसीयालाई स्थानीयले गठबन्धनको नेता भएर तपाईले मध्यराति विपक्षी दलको उम्मेदवारलाई कुन स्वार्थले बोलाउनुभयो ? भनि विवाद गर्न थालेपछि सरावगी आएको स्वीकार गरेका थिए । उनले सरावगी भोट माग्न आएको र यो विषय अरुको सरोकारको नभएको जवाफ फर्काएका थिए ।

चौरसियाले आफ्नो घरमा जोसुकैलाई पनि ल्याउन मिल्ने, जसलाई पनि राख्न मिल्ने भन्दै दादागिरीले भोट पाउँछ भनेपछि विवाद झन चर्किएको थियो । केही बेर प्रहरी प्रशासनलाई अवस्था साम्य पार्न धौधौ परेको थियो । तत्काल घटनास्थलमा पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उम्मेदवार सरावगीलाई आफ्नै गाडीमा राखेर दुईतीन जना प्रहरीले उनलाई सिटको मुनि छोपेर घटनास्थलबाट बाहिर निकालेका थिए । पाँच वर्षे कार्यकालमा जनताको मन जित्न नसकेका सरावगीले निर्वाचनको मुखमा आएर भोट किन्न आएको भन्दै स्थानीयले विरोध गरेका थिए ।

ठुलो संख्यामा उपस्थित भएका स्थानीयले सरावगीको विरुद्धमा चौरसीयाको घर बाहिर नाराबाजी गरेपछि उनि करीब साढे २ घण्टासम्म घरभित्रै लुकेर बसेका थिए । चौरसियाको घरमा लुकेका सरावगी विरोध स्थललाई छल्दै प्रहरीको सहयोगमा पर्खाल नाघेर छिमेकी सुभनारायण चौरसियाको घर हुँदै भित्रभित्रै पर्खाल नाघि विजय चौरसीयाको घरको साँघुरो गल्लीबाट निस्केर प्रहरीको भ्यानमा चढेका थिए । गाडी चढेपनि स्थानीय तथा उपस्थित सञ्चारकर्मीहरुले उनको फोटो खिच्न खोज्दा क्यामराबाट अनुहार जोगाउन सरावगीले टाउको लुकाएका थिए ।

यस घटनाबारे नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधिले उम्मेदवार सरावगीले पैसा बाड्न आएको कुरामा सत्यता नरहेको बताए । उनले भने सरावगी यहाँ आएको बेला उनीमाथि आक्रमण गर्नेहरुको समूह पछाडि रहेकोले उनलाई संरक्षण गर्नका लागि आफ्नो घरमा आएको बताए । उनले करिब १२ बजेको समयमा आफ्नो घरको ढोका अचानक खटखट गर्दा छोराले गएर गेट खोल्दा आफ्नो मामाको छोरा पर्ने कृष्ण चौरसिया रहेकाले बाहिर निस्केर हेर्दा उम्मेदवार सरावगी पनि सँगै रहेको र घरको बाहिर ३०÷४० जनाको भीड रहेकोले उनलाई संरक्षण गर्नका लागि घरमा ल्याइएको बताए ।

यस्तो किसिमको राजनीतिले ठूलो दुर्घटना निम्ल्याउँछ, समयमै सचेत होऔं भन्दै नेता चौरसियाले नसोधीकन मेरो घरको छतमा चढ्ने, ढोका धकेल्ने, यता झ्यालमा चढ्ने उता चढ्ने जस्ता गुण्डागर्दी काम भएको बताए । राजनीति गर्ने नेता होस् या कार्यकर्ता उनमा शालीनता हुनुपर्छ, जनताको मत जित्नसक्नुपर्छ, कसैको भोट लिन उनीसँग नरमता अपनाउनुपर्छ यसरी दादागिरी पाराले भोट नपाउने उनको भनाइ छ ।

यता नेकपा एमालेबाट वीरगञ्ज महानगरपालिका मेयरका उम्मेदवार विजय सरावगीले आफूलाई सुरक्षा गर्नको लागि चौरसियाको घरमा प्रवेश गरेको बताए । उनले नगवा टोलमा दुईचार जनासँग भेट्नुपर्ने थियो, उनीहरुको घरपनि थाहा थिएन, म आफ्नो सहयोगी कृष्ण चौरसियासँग बाईकमा गए, बीचबाटोबाटै १५÷२० जनाले आफूलाई फलो गर्न थालेपछि आफूलाई असुरक्षा महसुस भएपछि सहयोगी चौरसियाको मामाको घरमा प्रवेश गरेको बताए ।

मलाई जो कोहीसँग पनि भेट्न पाउने अधिकार छ, म उम्मेदवार हुँ, हरेक मतदाताको घरमा जान पाउनु मेरो अधिकार हो, तर पैसा बाँड्न गएको कुरामा सत्यता नरहेको बताए । उनले मैले शुद्ध रुपमा भेटघाट गर्न गएको थिए तर सुनियोजित ढँगबाट ममाथि प्रहार गरियो, त्यो मेरो स्वतन्त्रताको हनन् रहेको भन्दै हाम्रो पार्टीबाट कुनै किसिमको आचार संहिताको उल्लंघन नहुने स्पष्ट पारे ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people N
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments