Incident Reports

जातीय विभेदको आरोपमा दलित महिला कर्मचारीद्वारा उजुरी l

2014-08-26

INSEC Western Regional Office नेपाल विद्युत प्राधिकरण पाल्पामा कार्यरत दलित महिला कर्मचारी देवी नेपाली र रामकुमारी दमाइलाई भदौ ११ गते सोही कार्यालयका कर्मचारी कृष्ण रायमाझीले जातीय विभेद गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । तीजको अवसरमा कार्यालय परिसरमा भदौ १० गते आयोजना गरिएको दर खाने कार्यक्रममा आफूहरूलाई कार्यक्रमस्थलबाट बाहिर निकाली जातीय विभेद गरिएको भन्दै उनीहरूले उजुरी दिएका हुन् । कर्मचारी रायमाझीले कार्यक्रमस्थल सभाहलबाट बाहिर निस्कन लगाई बाहिरै दर खान दिएको भन्दै उनीहरुले जातीयताको आधारमा विभेद गरिएको आरोप लगाए । आरोपित कर्मचारी कृष्ण रायमाझीले कार्यालय प्रमुख नवलकिशोर रोहितको समेत उपस्थिति रहेको कार्यक्रममा कुर्सीको अभाव भएकोले उनीहरुलाई बसेको ठाउँबाट उठ्न आग्रह गरेको तर बाहिर ननिकालिएको बताए । कार्यालय प्रमुख रोहितले कुनैपनि कर्मचारीलाई जातीयताको आधारमा विभेद नगरिएको बताए । डीएसपी शिव श्रेष्ठले पीडितले उजुरी दिएको र घटनाको बारेमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताउँदै कसैलाई पनि गिरफ्तार नगरिएको जानकारी दिए । इन्सेक क्षेत्रीय कार्यालय,पोखरा

0 Comments

Related Reports
Related Trend Analysis