Incident Reports

दुर्गम गाउँका बालबालिका कुपोषणबाट ग्रस्त l

2014-08-27

Chhetu Sherpa भोटखोला क्षेत्रका ४ गाविसमा रहेका ५ सय बालबालिका कुपोषणबाट प्रभावित भएका छन् । पोषिलो खाना तथा नियमित खान नपाएपछि जिल्लाकै दुर्गम भोटखोला क्षेत्र किमाथाङ्का, हटिया,चेपुवा र पावाखोला गाविसमा ५ सय बालबालिका कुपोषित भेटिएका छन् । हटिया उपस्वास्थ्य चौकीका अहेव फुर्पु भोटे उपचारमा आउने बालबालिका कुपोषण भएको बताए । गरिबी, विपन्नता र पौष्टिक आहार नपाइने यो क्षेत्रमा सन्तुलित र पौष्टिक खानाको कमिले कुपोषण हुने गरेको एक अध्ययनले देखाएको उनले बताए । ०७१ जेठमा स्वास्थ्य संस्थाको भोटखोला गएको चिकित्सकको एकीकृत टोलीले जाँचका क्रममा सतप्रतिशत कुपोषण देखिएको रिपोर्ट सार्वजनिक गरेको थियो । हटिया गाविस-८ मा १४ महिनाकी देवीमाया तामाङ कुपोषणले ग्रस्त छिन् । हटिया गाविस-८ स्याक्सिलागोलाकी फूलमाया तामाङका छ सन्तानमध्ये देवीमाया कुपोषणग्रस्त दोस्रो सन्तान हुन् । उनका अर्का छोरा पनि कुपोषणग्रत भएका छन् । यो क्षेत्रमा कृषियोग्य जमिन अभावमा खोरिया फाँडेर खेती गर्ने चलन छ । त्यसैले यहाँका बासिन्दा खोरिया फाँड्दै कोदो, मकै र फापर खेती गर्छन् । खोरियाको उत्पादनले दुईतीन महिना पनि खान नपुग्ने भएपछि दिनमा एकपटक ढिंडो या पीठो खाएर गुजारा गर्छन् । बाल्यकालमा आमाको दुधसँगै दुईचार घण्टाको अन्तरमा पोषिला खानेकुरा खुवाउन नसक्दा कुपोषण बढेको हटिया गाविसका पूर्वअध्यक्ष वाङदाबी भोटेले बताए । बालबालिकाका आमाबुबा मजदुरी गर्न जाने र घरमा नाबालकलाई मात्र छोड्ने चलन छ । यसले आवश्यक समयमा खानेकुरा खुवाउन नसक्दा बालबालिका भोकभोकै पर्ने र कुपोषण लाग्ने स्वास्थ्यकर्मीहरू बताए । सदरमुकाम खाँदबारीदेखि ५० कोस उत्तरको यो क्षेत्रका सबै गाविसमा सयौको संख्यामा कुपोषणग्रस्त बालबालिका भेटिएका छन् । गाउँमा डाक्टर नभएपछि महिलाहरूले कुपोषणग्रस्त बालबालिकालाई उपचार अभाव भएको स्थानीय धार्चे भोटेले बताए । उनले भने, "भोटखोलामा पीडा नै बनेको छ कुपोषण ।" सो क्षेत्रबाट जिल्ला सदरमुकाम खाँदबारी आउन सात दिन पैदल हिड्नुपर्छ । यस क्षेत्रमा उवा, आलु र गहुँमात्र उत्पादन हुने भएकाले उत्पादित अन्नले तीन महिनामात्र खान पुग्छ । एक छाक खाएर गुजारा गर्ने परिवारका आमाहरूमा पोषिलो खानेकुरा खान नपाएपछि पर्याप्त दूध नआउने अर्का समस्या छ । आमाको दूध र पोषिलो खानेकुरा खान नपाएपछि बालबालिकाहरू कुपोषित हुने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मदनकुमार उपाध्यले भने कुपोषण नियन्त्रणका लागि सुआहारा कार्यक्रमसँग सहकार्य गरी कार्यक्रम ल्याएको बताए । कार्यक्रमका लागि राज्यसँग माग गर्ने योजना रहेको उनको भनाइ छ । छेटु शेर्पा

0 Comments