Incident Reports

जातीय विभेद गर्ने असईलाई दुई महिना बितिसक्दा पनि कारबाही भएन l

2014-08-30

Santosh Ruchal जातीय विभेद गरेको आरोप लागेका अस्थायी प्रहरी पोष्ट डाँडाबजारका इन्चार्ज असई नवराज कार्कीलाई पीडितले कारबाहीको लागि उजुरी दिएको दुई महिना बितिसक्दा पनि अझैसम्म कुनै कारबाही भएको छैन । मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका-१९ मिल्स एरियामा स्थायी घर भई अस्थायी प्रहरी पोष्ट डाडाँबजारमा कार्यरत ३० वर्षीय प्रहरी जवान युवराज परियारमाथि असई कार्कीले तल्लो जातको भन्दै जातीय विभेद गर्दै आएका थिए । पोष्टका इन्चार्ज असई कार्कीले जवान परियारलाई सानो जातको भन्दै मेसमा खाना पकाउन नदिने, खाना खाँदा छुट्टै बसेर खानुपर्ने, खाना थप्न भान्सा कोठामा जान नदिने, आफुले ल्याएको पानी नखाने लगायतका कार्य बारम्बार गर्दै आएपछि जेठ ३० गते जिल्ला प्रहरी कार्यालयका एसपी इश्वरीप्रसाद चापागाइँलाई पीडितले उजुरी दिएका थिए । पीडितले उजुरी दिएपछि घटनाको सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न इलाका प्रहरी कार्यालय राजारानीका इन्सपेक्टर सुरेन्द्रप्रकाश श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति पनि गठन गरिएको थियो । छानबिन समितिले बुझाएको प्रतिवेदनको आधारमा थप अनुसन्धानपछि असई कार्कीलाई विभागीय कारबाहीको लागि अञ्चल प्रहरी कार्यालयमा एक महिना अगाडि नै सिफारिस गरिएको भए पनि हालसम्म त्यसको विषयमा कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालयका एसपी इश्वरीप्रसाद चापागाइँले बताए । हाल पीडित प्रहरी जवान युवराज परियार जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका छन् भने आरोपित असई नवराज कार्की प्रहरी प्रधान कार्यालय काठमाडौँमा तालिममा रहेका छन् । सन्तोष रुचाल

0 Comments

Related Reports
Related Trend Analysis