Incident Reports

सासूमाथि निर्घात कुटपिट, होस खुलेपछि बाहिरियो घटना

2022-06-18

Province 1, Jhapa, Damak, Ward 9

विराटनगर : झापाको दमक नगरपालिका–९ शान्ति मार्गकी ३३ वर्षिया कल्पना कटुवाल(भण्डारी)ले आफ्नै वृद्धा सासूमाथि निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ। बुहारीले मरणासन्न हुने गरी कुटपिट गरेपछि गम्भीर घाइते भएकी ६४ वर्षीया चन्द्रकला भण्डारीको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको, अनुहार, घाँटी, कम्मरलगायत शरीरका अधिकांश भागमा चोट लागेको छ। टाउकोमा ४ टाँका लगाइएको छ। कुटाइको पीडाले थलिएकी वृद्धा राम्ररी बोल्न सक्ने अवस्थामा छैनन्। खाने कुरा खान सक्दिनन्। अस्पतालका अनुसार उपचारपछि स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ। तर ३ दिन लामो उपचारपछि होस खुलेकी वृद्धा बेलाबेला आत्तिने, तर्सिने र डराउने गरिरहेको अस्पतालले जनाएको छ। दीर्घरोगी रहेकी वृद्धाले मुटु सम्बन्धी रोगको औषधि नियमित सेवन गर्दै आएकी थिइन्। स्वास्थ्यमा अरु पुरानै समस्या पनि रहेको उपचारमा संलग्न एक स्वास्थ्यकर्मीले बताए। वृद्धालाई आफ्नै घरको कोठाभित्र गत बुधबार बिहान ११ बजेतिर छोरी तुलसादेवी भण्डारी (कार्की)ले रगताम्य भएको अचेत अवस्थामा भेटेकी थिइन्। ‘कोठाभित्र रगतमा लतपतिएको बेहोस अवस्थामा आमालाई भेटेपछि तत्काल उपचारका लागि दमककै लाइफलाइन अस्पताल लगियो। त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगर ल्याएका हौँ,’ तुलसाले भनिन्, ‘सुरुमा त घटनाका बारेमा हामी अन्योलमा थियौँ। कोठाभित्रै लडेर यस्तो भएको होला भन्ने सोच्यौँ।’

उनका अनुसार सुरुमै दमकमा चिकित्सकले घटना शंकास्पद रहेको र वृद्धामाथि आक्रमण भएको हुनसक्ने बताएका थिए। उपचारका क्रममा वृद्धाको होस फर्किएपछि शुक्रबार साँझ मात्रै घटना बाहिरिएको हो। होसमा आएपछि उनैले घटनाका बारेमा बताएकी हुन्। प्रहरीका अनुसार हत्या गर्ने हिसाबले ढोकाको आग्लोले टाउको तथा शरीरका विभिन्न भागमा प्रहार गर्दै घाँटी थिचेर र सिरानीले मुख थुनेर बुहारीले दीर्घरोगी सासूको हत्या गर्न खोजेको देखिन्छ। कल्पनाले गत बुधबार बिहान १०:३० बजेतिर दमकस्थित आफ्नै घरभित्र कोठामा थुनेर सासूमाथि कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर घरमा आएकी आमाजू तुलसालाई सासू घरभित्रै लडेको बताएकी थिइन्। घटना भएका बेला कल्पनाका पति डिल्लीराम भण्डारी भने बुवा ६९ वर्षीय भीमबहादुर भण्डारीलाई उपचारका लागि विराटनगर लिएर आएका थिए।

मस्तिष्कघात भएका भीमबहादुरको मंगलबार राति नोबेलमै शल्यक्रिया भएको हो। बिरामी ससुरालाई उपचार गराउन पति डिल्लीरामले लिएर गएपछि घरमा कल्पना, उनका ९ वर्ष तथा ९ महिनाका दुई छोरी र सासू मात्रै थिए। ९ वर्षकी छोरी स्कुल गएपछि उनले सासूमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। कुटपिटको कुरा बाहिरिएलगत्तै इलाका प्रहरी कार्यालय दमकले कल्पनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ। दमकका डीएसपी दिलिप गिरीका अनुसार कुटपिटको कारण पारिवारिक मनमुटाव भएको खुलेको छ। ‘पारिवारिक मनमुटावका कारण सासूमाथि निर्घात कुटपिट गरेको देखिन्छ,’ उनले भने, ‘घटनाको थप कुरा अनुसन्धानपछि खुल्ने छ।’ आमालाई मरणासन्न हुने गरी कुटपिट गर्ने पत्नी कल्पनाविरुद्ध डिल्लीरामले प्रहरीमा किटानी जाहेरी दिएका छन्। डिल्लीरामले दिएको जाहेरीका आधारमा कल्पनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउने तयारी गरिएको डीएसपी गिरीले बताए। उनका अनुसार ज्यान मार्ने हिसाबले सासूमाथि आक्रमण गरेको पाइएको छ। धनकुटा माइती भएकी कल्पना र डिल्लीरामबीच १२ वर्षअघि मागी बिहे भएको हो। प्रहरीका अनुसार भण्डारी परिवारमा विगतदेखि नै पारिवारिक विवाद र मनमुटाव रहेको पाइएको छ। परिवारसँग विवाद गर्दै कल्पनाले घरमा बस्न नमानेपछि डिल्लीरामले यसअघि २ वर्षसम्म पत्नी र छोरीलाई सुनसरीको इटहरीमा डेरामा खोजेर राखेका थिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments