Incident Reports

श्रीमतीमाथि दुर्व्यवहार गरेपछि ‘सुपारी’ दिएर हत्या

2022-06-26

Province 1, Jhapa, Arjundhara, Ward 7

श्रीमतीमाथि दुर्व्यवहार गरेको निहुँमा झापामा एक भारतीय नागरिकको हत्या भएको खुलेको छ। श्रीमानको अगाडि श्रीमतीलाई दुर्व्यवहार गरेपछि भारतीय नागरिक ४० वर्षीय जपाडिया नरेशकुमार बाबु भाइको योजना बनाएर हत्या भएको खुलेको हो।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा ७ डाँडाँगाउँकी ३२ वर्षीया जानुका सुवेदी थापा, उनका ४९ वर्षीय श्रीमान् विनय भनिने वृखबहादुर थापा र सुनसरी बराह क्षेत्र नगरपालिका–१० का २५ वर्षीय सुरेश परियार रहेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न अर्का एक व्यक्ति अझै फरार छन्। फरार व्यक्तिको प्रहरीले परिचय खुलाएको छैन। आरोपितलाई प्रहरीले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

भारत गुजरातका नरेशकुमारको शव १२ असार साँझ ६ बजे अर्जुनधारा–४ स्थित ह्युमपाइपभित्र बोरामा भेटिएको थियो। घटना शंकास्पद भएपछि प्रहरीको अनुसन्धानका क्रममा हत्या भएको खुलेको हो। जानुकालाई नरेशकुमारले दुर्व्यवहार गरेपछि उनका श्रीमान् वृखबहादुर र जानुकाले हत्याको योजना बनाएका थिए। हत्या गरेबापत परियार र पहिचान नखुलाइएका एक व्यक्तिलाई पाँच लाखको ‘सुपारी’ दिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए। ‘जानुका, वृखबहादुर थापा र सुरेश तथा फरार एक मानिसबीच हत्या गरेबापत पाँच लाख सुपारी दिने सहमति भएको पाइन्छ,’ उनले भने, ‘हत्यापछि परियारलाई दुई लाख र फरार व्यक्तिलाई एक लाखसमेत दिएको पाइयो।’

सुपारी लिएपछि ९ असारमा उनको हत्या भएको प्रहरीले जनाएको छ। राति जानुका र वृखकै घरमा हत्या गरेर बोरामा पोको पारेर बाइकमा राखी ह्युमपाइपभित्र फ्याँकेको भेटिएको प्रहरीले जनाएको छ। मृतक नरेशकुमार र जानुकाबीच तीन वर्ष लामो चिनजान रहेको प्रहरीले जनाएको छ। ०७६ मंसिरमा कामका लागि दिल्ली गएकी जानुका र उनीबीच भेटघाट र चिनजान रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। उनले जानुकालाई पानीट्यांकीसम्म पुर्याउन आएको प्रहरीले जनाएको छ। त्यसयता पनि उनीहरूबीच निरन्तर सम्पर्क रहेको प्रहरीले जनाएको छ। ०७६ चैतमा नरेशकुमारले जानुकाका छोराछोरीलाई खेलौना पठाएको पाइएको एसपी पोखरेलले जानकारी दिए। मृतकले जानुकाको घर बनाउन भनेर पाँच लाख रुपैयाँ पनि लिएको प्रहरीले जनाएको छ।

यसअघि मृतक नरेशकुमारलाई प्रहरीले ४ वैशाख ०७९ मा अवैध ५९ हजार भारुसहित पक्राउ गरी राजस्व कार्यालयमा बुझाएको थियो। उनलाई कार्यालयले धरौटीमा छाडेको थियो। तारेख धाउनुपर्ने भएपछि उनी जेठमा जानुकाको घरमा आएर तीन दिन बसेको प्रहरीले जनाएको छ। त्यही समयमा श्रीमानकै अगाडि दुर्व्यवहार गरेपछि हत्याको योजना बनेको प्रहरीले जनाएको छ। उनी ७ असारमा पुनः जानुकाको घरमा आएर बसेका थिए। ९ असारमा इटहरीमा तारेख गएर आएका उनको साँझ हत्या भएको प्रहरीले जनाएको छ।

‘लामो समयदेखि सम्बन्ध देखिन्छ। श्रीमानको अगाडि दुर्व्यवहार गरेपछि हत्याको योजना बनेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले भने। आरोपितलाई प्रहरीले शनिबार पक्राउ गरेको हो। आरोपितलाई जिल्ला अदालत झापाबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments