Incident Reports

विद्यालय भत्किएपछि सवै विद्यार्थी एउटै कक्षाकोठामा पढ्न बाध्य l

2014-08-24

Gandaki, Gorkha, Gorkha, Ward 6

फिनाम गाविस-६ मा अवस्थित पन्थेश्वरी प्रावि साउन ३० गतेको पहिरोले भत्किएपछि सबै विद्यार्थी एउटै कक्षाकोठामा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयको कक्षाकोठाहरू पहिरोले भत्केपछि विद्यार्थीलाई पठन-पाठनमा समस्या भएको हो । चार कोठे भवनलाई पहिरोले क्षति पुर्‍याएको र भत्किएको भवनको कक्षाकोठामा विद्यार्थी पढ्न डराएपछि कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर अध्यापन गराइएको विद्यालयका प्रधानाध्यापक मायादेवी अधिकारीले बताईन् । एउटा कक्षाकोठाको पहिलो बेन्चमा एक कक्षा, दोस्रोमा दुई कक्षा गर्दै कक्षा पिच्छे फरक-फरक बेन्चमा राखेर पढाउँनु पर्दा समस्या भएको उनले बताईन् । पहिरोले विद्यालय भत्किएर तीनजना अविभावकको समेत मृत्यु भएपछि विद्यार्थीहरू डरले विद्यालयमा कम मात्रामा आउन थालेका छन् । विद्यालयमा पहिरोले क्षति पुगेपछि भदौ ३ गतेबाट सञ्चालन गरिएको विद्यालयमा अहिले विद्यार्थी प्रायः आउन छाडेका छन् । कक्षा एकदेखि पाँचसम्म ४३ जना विद्यार्थी रहेको उक्त विद्यालयमा भदौ ८ गते १४ जना विद्यार्थी मात्रै उपस्थित रहेका थिए । विद्यालय आएका विद्यार्थी पनि पहिरो गएको ठाउँ हेरेर टोलाउने, पढाइमा ध्यान नजाने, मुखामुख गरेर पहिरोको बारेमा मात्रै कुराकानी गर्ने प्रधानाध्यापक अधिकारीले बताइन् । उनले विद्यार्थीमा अझै दुर्घटनाको त्रास नहटेकाले सबै विद्याथी विद्यालय नआएको जानकारी दिईन् । नरहरि सापकोटा

0 Comments