Incident Reports

८२ जना बन्दकर्ता पक्राउ, ठाउँठाउँमा तोडफोड र आगजनी

2022-08-23

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ — सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै चारवटा साना वाम घटकले घोषणा गरेको नेपाल बन्दका क्रममा ८२ जना पक्राउ परेका छन् । नेपाल बन्दका क्रममा तोडफोड तथा आगजनी र हुलहुज्जत गर्ने ८२ जना विभिन्न जिल्लाबाट पक्राउ परेका हुन् । प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले काठमाडौं र ललितपुरसहितका जिल्लाबाट उनीहरुलाई नियन्त्रणमा लिइएको बताए । प्रवक्ता राईका अनुसार काठमाडौंबाट २४, ललितपुरबाट १, चितवन र दाङबाट ७/७, काभ्रे र बाग्लुङबाट ८/८, म्याग्दी, बर्दिया, इलाम र डोटीबाट २/२, अर्घाखाँचीबाट ३, कैलालीबाट ४, बाजुराबाट १० र कञ्चनपुरबाट ३ जना पक्राउ परेका हुन् । बन्दकर्ताले विभिन्न १७ जिल्लामा तोडफोड, आगजनी तथा हुलहुज्जतका गतिविधि गरेको प्रहरीले जनाएको छ ।

चन्द नेतृत्वको नेकपा र सरकारबीच २०७७ फागुन २० मा भएको सहमति कार्यान्वयनलगायत माग राख्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युष्टि पार्टी, विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र कर्णदीप बुढाथोकी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले सरकारविरुद्ध बन्द घोषणा गरेका थिए । बन्दकर्ताले काठमाडौंको कोटेश्वरमा बा ४ ख ९३९४ नम्बरको बसमा ढुंगा प्रहार गरी सीसा फुटाएका छन् । ज्ञानेश्वरमा इ-सफ्टवेयर कलेजमा ढुंगा प्रहार गरी झ्यालका सीसा फुटाएका छन् । बिजुलीबजारस्थित किंस कलेजमा पनि ढुंगा प्रहार गरी सीसा फुटाएको प्रहरीले जनाएको छ । बानेश्वर थापागाउँमा सडकमा गुडिरहेको नेपाल यातायातमा पनि ढुंगा प्रहार गरी बन्दकर्ताले झ्यालका सीसा फुटाएका छन् । प्रहरीका अनुसार चितवनमा एउटा सानो गाडी, ३ वटा ठूला बस र २ वटा ट्रकमा तोडफोड गरेका छन् । बन्दकर्ताले काभ्रेमा एउटा बस, दाङमा बीमा दाबी गर्न टिपर साहुकै निर्देशनमा कर्मचारीले तोडफोड, आगजनी गरेका छन् । बैतडीको सुनर्या गाउँपालिका २ स्थित सडकमा रातो कपडाले बेरेको अवस्थामा प्रेसर कुकर बम फेला परेको छ । त्यस्तै धुलिखेलमा शंकास्पदरुपमा सडकमै प्रेसर कुकर फेला परेको छ । यसैगरी पोखरा महानगरपालिका–२६ स्थित बुढीबजारमा बन्दकर्ताले राखेको शंकास्पद बस्तु फेला परेको छ । रुपन्देहीको सैनामैना, बर्दियाको गुलरिया र ठाकुरबाबालगायत एक दर्जन बढी स्थानमा सर्वसाधारणलाई त्रसित बनाउन राखिएका शंकास्पद बस्तु फेला परेको र सुरक्षाकर्मीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

डेढ वर्षअघि सरकार र चन्दसमूहबीच भएको तीन बुदे सहमतिमा ‘दुवै पक्ष (नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टीबीच देशको राजनीतिक समस्या वार्ता तथा संवादबाट समाधान गर्ने, नेकपाले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकार नेकपामाथी लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता/कार्यकर्ताको रिहाई र सम्पूर्ण मुद्दा खारेज गर्ने’ उल्लेख थियो । तर, सहमति अझैसम्म काार्यन्वयनमा नआएको भन्दै चन्द समूहसहित चार साना वाम घटकले सरकारविरुद्ध बन्द आह्वान गरेका थिए । २०७५ फागुन २८ मा तत्कालीन केपी ओली नेतृत्वको सरकारले चन्द समूह हिंसात्मक र आपराधिक गतिविधिमा संलग्न हुन थालेको आरोप लगाउँदै उसका गतिविधिमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि सरकारले प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)लाई चन्द समूहका गतिविधि नियन्त्रण गर्न देशभर परिचालन गरेको थियो । त्यसक्रममा चन्द समूहका २ हजार १ सय बढी नेता/कार्यकर्ता पक्राउ परेकामा ६० जिल्लामा जिल्ला प्रशासन कार्यालयबाट ६ सय १० र विभिन्न जिल्ला अदालतमा ३ सय २२ वटा मुद्दा दर्ता भएका थिए । जिल्ला प्रशासनमा दर्ता भएका ५ सय २३ वटा मुद्दा फिर्ता भइसकेको, ८७ वटा मुद्दा किनारा लाग्न बाँकी भएको सरकारले जनाएको छ ।

त्यस्तै ३८ वटा मुद्दा फिर्ताका लागि हालै प्रक्रिया अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ । विभिन्न जिल्ला अदालतमा दायरमध्ये १ सय १९ वटा मुद्दा टुंगिएको र बाँकीको हकमा अध्ययन भइरहेको भन्दै सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको गृहमन्त्री बालकृष्ण खाँणले सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाएका थिए । प्रतिबन्धको अवधिमा चन्द समूहले १ सय ९ वटा विस्फोट, २ सय ५७ आगजनीका घटना भएका थिए । आफैंले थापेको धरापमा ७ र प्रहरी कारबाहीमा ४ जना नेता–कार्यकर्ताले ज्यान गुमाएका थिए । चन्द समूहबाट तीन प्रहरीसहित ६ जना मारिएका थिए । प्रहरीसहित प्रतिबन्धको अवधिमा २ हजार १ सय बढी पक्राउ परेकोमा १ सय ४० जना पुर्पक्षमा थुनामा पठाइएकामा पछिल्लो पटक केही व्यक्तिमात्रै कारागारमा छन् । तर, चन्द समूहले सहमतिलाई कार्यान्वयनमा लैजानुको साटो अल्झाएर लम्ब्याउँदै लगेको भन्दै आन्दोलनमा जानेसम्मको चेतावनी दिएको छ । त्यही क्रममा मंगलबार चार दलले एकदिने नेपाल बन्द घोषणा गरेको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Other
Primary Cause Other political issues
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments