Incident Reports

परमादेशपछि पनि कथित बोक्सी विरुद्धको उजुरी प्रहरीले दर्ता नगरेको गुनासो l

2014-09-10

Madhes, Saptari, Dakneshwori

Manohar Kumar Pokharel सप्तरी । ०७१ भदौ २५ गते तरही गाविस-३ की ३३ वर्षीया मायादेवी भनिने मत्याकुमारी रायलाई सोही ठाउँका राजेश्वरप्रसाद राय, गिनादेवी राय र मीनादेवी रायले बोक्सीको आरोप लगाई कुटपिट गरेको जाहेरी दरखास्त दर्ता गरी कानुन बमोजिम गर्नु भनी अदालतले परमादेशको आदेश जारी गरेको एक वर्ष२ महिना भइ सके पनि प्रहरीले उजुरी दर्ता गर्न नमानेको भन्दै पीडितले गुनासो गरेकी छन् । पुनरावेदन अदालत राजविराजका तत्कालीन मुख्य न्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश टेकराज नेपालको संयुक्त इजलाशले ०७० असार ३० गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका नाममा जाहेरी दरखास्त दिन आएमा दर्ता गरी कानुन बमोजिम गर्नु भनी परमादेशको आदेश जारी गरेको थियो । परमादेशमा भनिएको छ-''बोक्सीको आरोप लगाउने कार्य कानुनले प्रतिबन्धित हुनुका साथै सम्मानपूर्वक बाँच्न पाउने नागरिकको नागरिक अधिकारको पनि उल्लघंन भएकोले त्यस्तो जाहेरी दर्ता गराउन ल्याएमा कानुन बमोजिम प्रकृया पुर्‍याई दर्ता गरी अनुसन्धानलगायतका कामकारवाही गर्ने अधिकार विपक्षी कार्यालयलाई भएको देखिँदा निवेदन जिकिर अनुसारको जाहेरी दरखास्त दिन आएमा दर्ता गरी कानुन बमोजिम गर्नु भनी विपक्षीहरूको नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ ।'' आरोपितले तरही गाविस-३ स्थित सार्वजनिक बाटोमा घेरा हाली बोक्सीको लाञ्छना लगाई लछारपछार गरी ०६९ माघ २९ गते कुटपिट गरेको पीडितको आरोप छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा ०६९ फागुन ६ गते आरोपितहरूविरुद्ध उजुरी दिएकोमा प्रहरीले घाँजाँच गराए पनि उजुरी दर्ता र कारबाही नगरेपछि ०७० चैत ३० गते पुनरावेदन अदालत राजविराजमा परमादेशका लागि रिट दायर गरेका थिए । अदालतको परमादेश पछि पनि उजुरी दर्ता नगरी आलटाल गरेर प्रहरीले अदालतको अपहेलनाका साथै पीडितलाई थप पीडा दिएको पीडितका कानुन व्यवसायी नविन सिंहले बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis