Incident Reports

दाइजोको निहुँमा एक महिलाको हत्या

2014-10-12

Madhes, Mahottari, Bhangaha

Ajay Kumar Sah महोत्तरी । ०७१ असोज २७ गते मेघनाथ गोरहाना गाविस-७ गोनरपुराकी २० वर्षीया गीतादेवी राउतको दाइजोको निहुँमा हत्या भएको आशङ्का गरिएको छ । गीतादेवीलाई सासू-ससुरा सहित परिवारका सदस्यहरु मिलेर असोज २६ गते बेलुकी हत्या गरेको प्रहरी तथा स्थानीयले आशङ्का गरेका छन् । हत्याको खबर पाएपछि घटनास्थल पुगेको प्रहरीले सोही दिन राती ९ बजे जलेको अवस्थामा गीतादेवीको शव फेला पारेको छ । जिल्ला प्रहरी कार्याल्यका एसपी सौरभ राणाका अनुसार बल्दै गरेको आगोमा पानी खन्याएर प्रहरीले गीतादेवीको शव बाहिर निकालेको हो । हत्यामा संलग्न परिवारका सबै सदस्य फरार छन् । गीतादेवीको हत्या हुँदा सासू-ससुरा, दुई जना नन्द र एक जना ज्वाइँ घरमा थिए । डामिमरही-६ का भूमि राउतकी छोरी गीतादेवीको गएको जेठ १६ गते गोनरपुरा-७ का खैरु राउतका छोरा नथुनी राउतसँग विवाह भएको थियो । गीतादेवीको पति नथुनी राउत रोजगारीको लागि भारतको पञ्जावमा छन् । गीतादेवीको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर लगिएको इन्स्पेक्टर नरेश महतोले जानकारी दिए । भने जति दाइजो नल्याएको भन्दै सासूससुरासहित परिवारका सदस्य मिलेर गीतादेवीको हत्या गरेको आशङ्का गरिएको छ । घटनापछि परिवारका सदस्य फरार रहेको र छिमेकीहरूले पनि घटनाबारे केही बताउन नचाहेकाले गीता देवीको हत्याको यथार्थ कारण खुल्न नसकेको एसपी राणाले बताए । एसपी राणाका अनुसार असोज २६ गते दिउँसो गीता देवीकी आमा छोरीलाई लिन भनेर उनको घरमा पुगेकी थिइन् । तर, सासू-ससुराले गीता देवीलाई आमासँग जान नदिई घरमै राखेका थिए । सासू-ससुराले छोरीलाई माइत जान नदिएपछि गीतादेवीकी आमा सोही दिन दिउँसो ४ बजेतिर छोरी नलिई एक्लै घर फर्केकी थिइन् । आमा फर्किएपछि परिवारका सदस्य मिलेर सोही दिन साँझ करिब ६ बजेतिर गीताको हत्या गरेका प्रहरीले अनुमान छ । घटनापछि हत्यामा संलग्न भएको आरोपमा फूलकाहा-८ जमुनियाका ३० वर्षीय विसे राउतलाई प्रहरीले गिरफ्तार गरेको छ । बीसे राउत मृतक गीतादेवीको ससुरा खैरु राउतका ज्वाइँ हुन् । गीतादेवीको घरसँगै जोडिएका अन्य चार घरका व्यक्तिहरु पनि फरार छन् । उनीहरु प्रहरीले गिरफ्तार गर्ने डरले घर छोडी भागेको जनाइएको छ । हत्यामा संलग्नहरुको खोजीको लागि गीतादेवीको घरपट्टकिा आफन्तको घर पत्ता लगाउन प्रहरी परिचालन गरिएको एसपी राणाले बताए । अजयकुमार साह

0 Comments

Related Reports
Related Trend Analysis