Incident Reports

फेरि प्रदर्शनमा उत्रिए चितवनका किसान

2023-02-24

Bagmati, Chitawan, Bharatpur

राजमार्गमा तरकारी फालेर गरिएको आन्दोलनको सुनुवाइ नभएको भन्दै चितवनका किसानहरूले शुक्रबार दोस्रो चरणको आन्दोलन सुरू गरेका छन्। किसानका मागहरू सम्बोधन गर्न दबाबका लागि कृषि औजारसहित सडकमा आएर प्रदर्शन गरिएको किसान संघर्ष समिति चितवनका संयोजक लेखनाथ भुषालले जानकारी दिए। भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा कृषि औजारसहित भेला भएका किसानहरू जिल्ला प्रशासन कार्यालय, बाइपास रोड, कृषि ज्ञान केन्द्र, चौबिसकोठी हुँदै नारायणगढको पुल्चोक पुग्ने उनले बताए।

‘नारायणगढमा राजमार्गमा ट्याक्टर राखेर प्रदर्शन गर्दैछौं,’ भुषालले भने, ‘किसानले उठाएका माग सम्बोधन गर्ने आश्वासन त धेरै आए तर कार्यान्वयन भएनन्। कार्यान्वयनका लागि दबाब दिन किसानहरू प्रदर्शनमा सहभागी भएका छन्।’ अन्य औजार ल्याउन प्रशासनले रोक लगाएको भुषालले बताए। चितवनसहित अन्य विभिन्न जिल्लाका किसानहरू सरकारले दिएको किसान परिचयपत्रसहित प्रदर्शनमा आएको उनले बताए। किसानले उठाएका मागहरू सम्बोधनका लागि आश्वासनमात्र आएकाले कार्यान्वयनमा दबाब दिन दोस्रो चरणको आन्दोलन गर्नु परेको उनले बताए।

नेपालमा पर्याप्त उत्पादन हुने तरकारी, फलफूल भारतबाट आयात नगर्न, रासायनिक मल सहज रूपमा पाउने व्यवस्था गर्न, मलमा भइरहेको कालोबजारी रोक्न, किसानले पाउने अनुदानमा गरिएको कटौतीको निर्णय फिर्ता लिन किसानले माग गरेका छन्। उनीहरूले किसानले उठाएका दस बुँदे मागहरूलाई नीतिगत रूपमा कार्यान्वयन गर्न दबाब दिँदै आएका छन्। गत माघ २० गते किसानहरूले नारायणगढको पुल्चोकस्थित पूर्व-पश्चिम राजमार्गमा तरकारी फालेर किसान आन्दोलनको घोषणा गरेका थिए। उक्त प्रदर्शनपछि प्रधानमन्त्री, कृषि मन्त्रीलगायातले किसानका मागहरू सम्बोधन गर्ने आश्वासन दिएका थिए। तर नीतिगत रूपमै निर्णय नहुँदासम्म आश्वासनको मात्रै अर्थ नभएको पुराना किसान बलराम राउतले बताए।

‘अझै पनि भेडे खुर्सानी, लौका, करेला, भेण्डी, आलु, प्याजलगायतका तरकारीहरू पहिलेजस्तै गरी आयात भइरहेका छन्। बढ्दो आयातले यहाँका किसानका उत्पादनले बजार पाउन सकेका छैनन्,’ राउतले भने, ‘आवश्यक मात्रामा रासायनिक मल पाउन नसक्दा ठूलो समस्या भइरहेको छ। सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउन किसान सडकमा पुग्नै पर्ने आवस्था आयो।’ किसान आन्दोलनका अगुवा अरविन्द्र सुवेदीले आगामि दिनमा वार्ता र आन्दोलन सँगसँगै अघि बढाउने बताए। उनले मागको सुनुवाइ नभए देशभरका किसान काठमाडौं पुगेर सिंहदरबार घेर्ने बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis