Incident Reports

‘हत्याबारे प्रहरीले किटानी जाहेरी नलिएसम्म हामी छोराको शब अस्पतालबाट बुझ्दैनौं’

2023-02-13

Lumbini, Rolpa, Runtigadi, Ward 2

रोल्पामा एक युवाको हत्यापछि हत्या गर्ने ब्यक्तिलेनै उनका कपडा निकालेर मृतककै घरमा लगेर फालेको तथ्य खुलेको छ।

हत्या आरोपितका बाबुले हत्या गरिएका युवाको एउटा जुत्ता भने आफ्नै घरमा लिएर गएका थिए।

माघ २९ गते रोल्पाको रून्टीगढी गाउँपालिका–२ का २० वर्षीय राजेन्द्र विकको राति भीरबाट लडेर मृत्यु भएको घटना जिल्ला प्रहरी कार्यालय रोल्पाले सार्वजनिक गरेको थियो।

राजेन्द्रको शव फागुन १ गते राम्ली सामुदायिक वनको भीर मुनी खोँचमा स्थानीयले फेला पारेका थिए।

राजेन्द्र उक्त दिन गाउँका साथीसहित रून्टीगढी-१ स्थित आफन्तको बिहेमा गएका थिए। गाउँबाट राजेन्द्रसँगै अन्य आफन्त र साथीहरू पनि गएका थिए। बिहे भोजमा उनीहरूले मदिरा सेवन गरे।

मदिरा सेवनपछि राजेन्द्रले आफ्नो ससुराली गाउँमा ‘गाँजा पाइन्छ लिन जाउँ’ भनेर अर्का एक किशोरलाई लिएर गए। ससुराली गाउँ जाने क्रममा राजेन्द्र भीरबाट लडेको घटना यसअघि प्रहरीले सार्वजनिक गरेको थियो।

यता प्रहरीले सार्वजनिक गरेको घटना विवरणमा राजेन्द्रका घर परिवारका सदस्य सहमत थिएनन्। किनकी, राजेन्द्रले लगाएको जम्पर र हाफ ज्याकेट फागुन १ गते बिहानै उनकी श्रीमतीले घरमै फेला परेकी थिइन्। त्यस्तै खोज्दै जाँदा पौने घन्टा टाढा रहेका एक आफन्तकै घरमा राजेन्द्रको दायाँ खुट्टाको जुत्ता फेला परेको थियो।

यी सबै घटना क्रमलाई राखेर राजेन्द्रका ४४ वर्षीय बुबा रूपलाल बिकले आफ्नो छोराको हत्या भएको किटानी प्रहरीमा दिन खोजे। तर, प्रहरीले उनको जाहेरी लिन अस्वीकार गर्‍यो।

सोमबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रूपलालले प्रहरीले आफ्नो छोराको किटानी जाहेरी नलिएसम्म आफूले शव अस्पतालबाट नलैजाने बताए।

रूपलालले आफ्नो छोराको सुनियोजित ढंगले हत्या भएको भन्दै एक नाबालकसहित सात जना विरूद्ध जिल्ला प्रहरी कार्यालयमा फागुन ४ गते किटानी जाहेरी लिएर गए पनि प्रहरीले दर्ता गर्न नमानेको जानकारी दिए।

‘मैले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न मानेन र सबुत प्रमाण के छ भन्दै फर्कायो,’ रूपलालले भने, ‘जबसम्म प्रहरीले हाम्रो जाहेरी बुझ्दैन तबसम्म हामी छोराको शब अस्पतालबाट बुझ्नेछैनौं।’

हाल १५ दिनदेखि राजेन्द्रको शव दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ।

यसैबीच राजेन्द्रका बुवा रूपलालले राष्ट्रिय मानव अधिकार र इन्सेकको क्षेत्रीय कार्यालयमा घटनाका बारेमा सोमबार उजुरी दिएका छन्।

प्रहरीले किटानी जाहेरी लिन नमानेको हुँदा आफू राष्ट्रिय मानव अधिकार र इन्सेकको कार्यालयमा उजुरी दिएको बताए।

आफ्नो छोरा राजेन्द्रको हत्यामा संलग्न ब्यक्तिलाई कानुनी कारबाही नहुँदासम्म आफू चुप लागेर नबस्ने उनले बताए।

यसैबीच रोल्पाका प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारू मगरले राजेन्द्रको हत्या भएको तथ्य खुले पनि त्यसमा कसैको संलग्नता भए नभएको बारे अनुसन्धान भइरहेको बताए।

अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका एक जनाले घटनामा आफ्नो संलग्नताबारे स्वीकार गरेको डिएसपी मगरले जानकारी दिए।

‘पक्राउ परेका किशोरले सुरूमा प्रहरीलाई झुक्याउन खोजे पनि सोमबार दिउँसो घटना स्वीकार गरेका छन्’, उनले भने।

ती युवाले आपसमा भनाभन हुँदा राजेन्द्रलाई टाउकोमा ढुंगाले हिर्काउँदा मृत्यु भएको र त्यसपछि भीरबाट खसालिदिएको बयान प्रहरीसमक्ष दिएको डिएसपी मगरले सेतोपाटीलाई जानकारी दिए।

‘दुबैले मदिरा सेवन गरेको र त्यहीँ क्रममा भनाभन हुँदा आफूले ढुंगाले हानेपछि राजेन्द्रको मृत्यु भयो भन्ने कुरा पक्राउ परेका किशारेले स्वीकार गरेका छन्,’ डिएसपी मगरले भने, ‘घटनामा अरूको संलग्नताबारे थप अनुसन्धान हुन बाँकी नै छ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports