Incident Reports

जेलमा तालाबन्दीले विद्यालयको पठनपाठन अबरुद्ध l

2014-10-15

Ramesh Prasad Timalsina नख्खु कारागारका कैदीबन्दीले दुई दिनदेखि जेलको सीआरसी ब्लकमा तालाबन्दी गरेपछि यहाँबाट एसएलसी तयारी गरेका झण्डै ३० जना विद्यार्थीको पठनपाठन अबरुद्ध भएको छ । जेलको आन्तरिक तथा बाह्य प्रशासनले भेदभाव गरेको भन्दै उनीहरूले असोज २७ गते दिउँसो ३ बजे जेलको 'सीआरसी" ब्लकमा ताल्चा लगाएपछि एसएलसी दिने ३० जनासहित एक सय विद्यार्थीको पढाई अबरुद्ध हुँदा उनीहरूको भविष्य अन्योलमा परेको जेल प्रशासनले जनाएको छ । तालाबन्दी गरिएको ब्लकमा करिब २ सय ६२ जना कैदी बन्दी राखिएको नख्खु जेलका जेलर चक्रपाणि गौतमले जानकारी दिएका छन् । गौतमका अनुसार कैदीबन्दीले सीआरसी ब्लकको १० ठाउँमा ताल्चा लगाएका छन् । "भित्रैबाट ताल्चा मारेपछि खुलाउन गाहो हुँदोरहेछ । उहाँहरू ताल्चा खुलाउन टसमस हुनुभएको छैन । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा ताला खुलाउने प्रयास भइरहेको छ । "जेलर गौतमले इन्सेक प्रतिनिधिलाई जानकारी दिए । जेलका कैदी बन्दीहरूले जेलरसहित आन्तरिक प्रशासनका चौकीदार, नाइके र भाइनाइकेको सरुवा गर्नुपर्ने, भेटघाट, बिदालगायत सुविधाका निम्ति प्रशासनलाई पैसा खुवाउनुपर्ने हुँदा त्यसको अनुसन्धान गर्नुपर्नेलगायत माग लिखित रूपमा राखेको बताइएको छ । गुणस्तरहीन खाना खुवाउने गरेको, चौकीदार, नाइके र भाइनाइकेले कुटपिट गर्ने गरेको पनि उनीहरूको गुनासो रहेको छ । जेलभित्रको आन्तरिक प्रशासन चलाउन विभागले कैदीबन्दीबाटै चौकिदार, नाइके, भाइनाइके चयन गर्ने गरे पनि यही विषयमा ललितपुरको नख्खु जेलमा पटकपटक झडप हुने गरेको छ । रमेशप्रसाद तिमल्सिना

0 Comments