Incident Reports

हत्या गरिएकी महिलाका आफन्तद्वारा प्रहरीमा किटानी जाहेरी l

2014-10-15

Madhes, Mahottari, Bhangaha

Ajay Kumar Sah मेघनाथ गोरहन्ना गाविस- ७ गोनरपुराकी २० वर्षीया गीतादेवी राउतको दाइजोको निहुँमा परिवारजनले नै हत्या गरेको भनी पीडितका बावु भूमि राउतले असोज २८ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । गीतादेवीलाई सासू-ससुरा सहित परिवारका सदस्य मिलेर असोज २६ गते आइतबार बेलुकी हत्या गरेका हुन् । प्रहरी अनुसन्धानका क्रममा दाइजोमा चित्त नबुझेपछि गीतालाई ससुरा खैरु राउतसहितका परिवारजन मिलेर आइतबार साँझ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । हत्यालगत्तै आफन्तले नौ बजे राति गीताको शव रातु खोलामा लगेर जलाएका थिए । यद्यपि, केही छिमेकी र माइती पक्षले गीताको हत्या भएको प्रहरीलाई खबर गरी दिएका कारण जलाउँदै गरेको अवस्थामा शव निकालेर पोष्टमार्टमका लागि अस्पताल लगिएको थियो । आफन्तले गीताले झुन्डिएर आत्महत्या गरेको समाचार गाउँभर फैलाएका थिए । आत्महत्या गरेकी गीताका बारेमा प्रहरीलाई जानकारी नै नगराइ आफन्तले शव जलाउन थालेपछि केही छिमेकीले आर्श्चर्यसमेत व्यक्त गरेका थिए । उनीहरूकै सूचनाका आधारमा गीताको शव बरामद गरी प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । गीताको हत्यापश्चात परिवारका सबै सदस्य फरार रहेको प्रहरी उपरीक्षक सौरभसिंह राणाले जानकारी दिए । उनीहरूको खोजतलास जारी छ । गीताका पति नथुनी राउत भने रोजगारीका सिलसिलामा भारतको पञ्जाबमा छन् । गीताको हत्यामा सासू ससुरा, दुई जना नन्द र एक जना ज्वाइँ संलग्न भएको हुन सक्ने राणाले बताए । गीताको २०७० साल जेठ १६ गते विवाह भएको थियो । ढाँमीमरैय-६ का भूमि राउतकी छोरी हुन् गीता । गीता र नथुनीबीच हिन्दू परम्परा अनुसार मागी विवाह भएको हो । घटनाका सम्बन्धमा राउत परिवारका छिमेकीले समेत अनुसन्धानमा असहयोग गरेको एसपी राणाले बताए । 'केही छिमेकीहरू पनि अनुसन्धानको दायरामा छन्' उनले भने । गीताकी आमा आइतबार दिउँसो छोरीलाई लिन घरमा पुगेकी थिइन् । तर सासू ससुराले गीतालाई माइत जान नदिई घरमै राखेका थिए । लगत्तै साँझ करिब छ बजे गीताको हत्या भएको हुनसक्ने प्रहरी भनाइ छ । अजयकुमार साह

0 Comments

Related Reports
Related Trend Analysis