Incident Reports

सापटी रकम फिर्ता नगरेको झोंकमा हत्या, हत्यापछि फालियो पानी ट्यांकीभित्र 

2023-03-29

Gandaki, Tanahun, Myagde, Ward 4

तनहुँमा महिलाको हत्या गरी पानीट्यांकीमा फ्याँकेको घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तनहुँले बिहीबार घटनाबारे सार्वजनिक गरेको हो। धादिङ गंगाजमुना गाउँपालिका-४ घर भई पोखरा महानगरपालिका-१२ अमरसिंह चोकमा डेरा गरी बस्ने ४४ वर्षीया शान्ति श्रेष्ठको हत्या भएको थियो। उनी पोखरामा फलफूल तथा बदाम बेच्ने काम गर्थिन्। उनको हत्या गरेको आरोपमा प्रहरीले काभ्रे पाँचखाल नगरपालिका-५ घर भई पोखरा-७ घारीपाटन बस्ने ३५ वर्षीय चित्र भनिने प्रकाश सुनारलाई पक्राउ गरेको हो। प्रहरीले अर्का एक जनालाई पनि पक्राउ गरेको छ। उनी पोखरा-४ का ४० वर्षीय सुन व्यवसायी रविनकुमार गहतराज हुन्। गत आइतबार बिहान ११ बजे म्याग्दे गाउँपालिका-४ मनहरीस्थित पिपलटार खानेपानी उपभोक्ता समूहको खानेपानी ट्यांकीभित्र शव फेला परेको भन्ने सूचना प्रहरीले पाएको थियो। केही दिनदेखि पानीमा गन्ध आइरहेको भन्ने खबर पाएपछि खानेपानीका कर्मचारी गएर ट्यांकी हेर्दा शव फेला परेको हो। उक्त ट्यांकीबाट १३६ घर परिवारलाई पानी वितरण गरिएको थियो। त्यस ट्यांकीको पानी खाएर केही बिरामी समेत परेको प्रहरीले जनाएको छ।

कार्यालयका प्रमुख एवं एसपी अबदेश विष्टका अनुसार शव गलिसकेको अवस्थामा फेला परेको थियो। ‘खबर पाएपछि मेरो नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो। शव निकालेर हेर्दा टाउकोमा चोट, घाँटीमा रातो रंगको पछ्यौराले कसेको, बायाँ कान च्यातिएको, छाती र पेट गलेको, निधारमा चोट, छाला खुइलिएको अवस्थामा थियो,’ उनले भने। सुरूमा ती महिलाको सनाखत भएको थिएन। तर उनको गोजीमा एउटा चिट फेला परेको थियो। उक्त चिटमा फोन नम्बर लेखिएको एसपी बिष्टले बताए। उक्त नम्बरको आधारमा बुझेर पोखरामा रहेका मृतकका छोरासँग सम्पर्क भएको थियो।

उनकै छोराले मृतकको सनाखत गरेको एसपी विष्टले बताए। शवको प्रकृतिले पनि कसैले लुटपाट गर्न हत्या गरेको हुनसक्ने प्रहरीको आशंका थियो। त्यस अनुसार प्रहरीले प्राविधिक रूपमा अनुसन्‍धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा प्रहरीले उनको कल रेकर्डहरू पनि निकालेको थियो। उक्त रेकर्डमा पछिल्लो समय प्रकाशसँग धेरैजसो कुराकानी हुने गरेको खुलेको एसपी विष्टले बताए। शान्तिका श्रीमान केही समयअगाडि नै बितेका थिए। पछिल्लो समय प्रकाशसँग पटक/पटक भेटघाट तथा कुराकानी हुन्थ्यो। ‘उनीहरूबीच दुई वर्षअघि चिनजान भएको थियो। पटकपटक भेटघाट पनि भएको र व्यावहारिक रूपमा नगद पनि आदानप्रदान भएको रहेछ,’ एसपी विष्टले भने। शान्तिले उनीसँग १० हजार रुपैयाँ लिएकी थिइन्। तर उनले माग्दा फिर्ता गरेकी थिइनन्।

गत फागुन २१ गते भने प्रकाश काठमाडौं जाने भन्दै हिँडेका थिए। उनी तनहुँ आएका थिए। ‘तनहुँबाट बिहानै शान्तिलाई फोन गरेको रहेछ। त्यसपछि शान्तिले पनि त्यही एक जनासँग लिनुछ, लिएर दिन्छु भनेपछि उनी पनि तनहुँ आइन्,’ एसपी विष्टले भने, ‘तर केही गरी पैसा मिलेन। उनका छोरा पनि बिरामी छन् भनेर दिन सकिनन्।’ पैसा फिर्ता गर्न नसकेपछि प्रकाशले शान्तिको फोन लिएर भाग्न खोजेका थिए। तर शान्तिले प्रतिकार गर्दा प्रकाशले इँट्टाले हिर्काए। उनले फेरि सलले घाँटी पनि न्याँकेर हत्या गरेको प्रहरीले जनाएको छ। शान्ति हराइरहेको भनेर जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि निवेदन परेको थियो। तर उनी फेला परेकी थिइनन्।

उनको शव फेला परेपछि अनुसन्धानकै क्रममा प्रहरीले बुधबार शुक्लागण्डकी नगरपालिका-१ थप्रेकस्थित ससुरालीबाट उनलाई पक्राउ गरिएको थियो। उनलाई पक्राउ गरेपछि प्रहरीले गरगहनाको पनि खोजी गरेको छ। प्रकाशले लुटेको गहना पोखरा-४ महेन्द्रपुलस्थित रजनी सुनचाँदी पसलमा बिक्री गरेका थिए। सुन व्यवसायी रविनकुमारले बिनाबिल उक्त सुन किनेका थिए। उनले बरामद गरेको सुनको स्वरूप नै परिवर्तन गरी ८० लालको सुनको ढिक्का बनाइसकेका थिए। त्यसपछि प्रहरीले उनलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। प्रहरीले दुबै जनामाथि कर्तव्य ज्यान मुद्दा शिर्षकमा सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments