Incident Reports

सिगास गाउँपालिका अध्यक्षद्वारा उपभोक्ता समिति अध्यक्षमाथि कुटपिट

2023-05-18

बैतडीको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेका छन्। स्थानीय कान्धार–देउलेक सडक उपभोक्ता समितिका अध्यक्ष वीरसिंह धामीलाई पालिका अध्यक्ष धामीले कुटपिट गरेका हुन्। पालिका अध्यक्षको कुटाइबाट घाइते भएका धामी जिल्ला अस्पताल बैतडीमा भर्ना भएका छन्। पालिका अध्यक्ष धामीले लाठी र लात्ताले कुटपिट गर्दा उनको हात, कम्मर, खुट्टालगायतका ठाउँमा घाउ भएको छ।

गत मंगलबार वडा नं. ४ मा रहेको उक्त सडकमा उपभोक्ताले काम गरेबापत रु २० लाख ४४ हजार रकमको चेक दिएको थियो। उक्त चेक साट्न पालिका केन्द्र गर्जेबाट उपभोक्ता समितिका अध्यक्ष धामी बुधबार गाँजरीमा रहेको कृषि विकास बैंक पुगेपछि पालिकाले फिर्ता बोलाएको थियो। उक्त सडकमा पैसा थपेर अर्को चेक काटिदिने भन्दै फिर्ता बोलाएको घाइते धामीले बताए। अर्को दिन बिहीबार पालिका गएपछि कर्मचारीहरूसँग विवाद भएको र त्यही वेला पालिका अध्यक्षले निहुँ खोज्दै कुटपिट गरेको उनले बताए।

‘मलाई यत्तिकै पालिका बोलाएका रहेछन्, विनाकारण चेक साट्न नदिएपछि कर्मचारीहरूसँग विवाद भयो’ जिल्ला अस्पताल बैतडीमा भर्ना भएका उनले भने, ‘त्यसपछि पालिका अध्यक्ष धामी आएर सुरुमा लात्तैलात्ताले कुट्नुभयो, १५/१६ लात्ता हिर्काएपछि लाठीले कुट्नुभयो। त्यसपछि म त्यहीँ ढलेँ।’

गाउँकै आफन्तहरूले ढलेको ठाउँबाट उठाएर ल्याउन लाग्दा पालिका अध्यक्षले उल्टै रातभरि प्रहरी चौकीमा थुन्न लगाएको उनको आरोप छ। बिहान मात्र प्रहरीले छोडेपछि आफन्तहरूले शुक्रबार उपचारका लागि अस्पताल ल्याएका थिए। उपभोक्ता समितिले गरेका कामबाट पालिका अध्यक्षले कमिसन मागेको र नपाएपछि कुटपिटमा उत्रिएको पीडितका आफन्तको आरोप छ।

पालिका अध्यक्ष धामीले भने उपभोक्ता समितिका अध्यक्ष वीरसिंहले मदिरा सेवन गरेर पालिका कर्मचारी र अध्यक्षसँग दुर्व्यवहार गरेको दाबी गरेका छन्। उपभोक्ता समितिका अध्यक्ष धामीले किर्ते कागजपत्र बनाएर भुक्तानी लिएको थाहा पाएपछि बैंकलाई चेक नसाट्न अनुरोध गरेको उनले बताए। कमिसन मागेको भन्ने झुटा आरोप लगाएको भन्दै उनले पालिकाको लेटरप्याड प्रयोग गरी विज्ञप्ति जारी गरेका छन्। आफूले कुटपिट नगरेकोसमेत पालिका अध्यक्ष धामीको दाबी छ।

कान्धार देउलेक सडकमा चालू आर्थिक वर्षमा रु ५० लाख रकम विनियोजन भए पनि ३९ लाखको सम्झौता गरेको उपभोक्ताहरूले बताएका छन्। सडक खन्ने क्रममा स्थानीय जयसिंह धामीले २० ड्रम इन्धन दिएको र उक्त इन्धनको सात लाख रकम मागेको घाइतेका आफन्त शेरसिंह धामीले बताए। इन्जिनियरले नापजाँच गरेर चेक काटिसकेपछि पुनः पालिका बोलाएर अध्यक्षले कुटपिट गरेको उनले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other economic issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis