Incident Reports

झिमरूक गाउँपालिका अध्यक्षका छोराले कुटपिट गरेपछि कर्मचारीले मागे सुरक्षा

2023-06-07

Lumbini, Pyuthan, Jhimruk

प्युठानको झिमरूक गाउँपालिकाका अध्यक्षका छोराले हातपात गरेपछि कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालयसँग सुरक्षा माग गरेका छन्।

अध्यक्ष पितबहादुर महतरा क्षेत्रीका छोरा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सं‌गठनका केन्द्रीय उपाध्यक्ष मिलनले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरूमाथि हातपात गरेको आरोप छ। घटना बुधबार भएको थियो।

उक्त घटनापछि आन्दोलनरत कर्मचारीहरूले बिहीबार प्रमुख जिल्ला अधिकारी मदन कोइरालासँग छलफल गरेका हुन्। दिनभर भएको छलफल शुक्रबार पनि जारी रहने उनले बताए।

‘आज दिनभर कर्मचारीसँग घटना के भएको हो भन्ने बारेमा मैले सोधपुछ तथा छलफल गरी जानकारी लिएको छु,’ उनले भने, ‘भोलि फेरि छलफल गरी सकभर भोलि नै समस्या समाधान गर्न प्रयास हुने छ।’

छलफलको क्रममा काम गर्ने वातावरण नबनेको हुँदा सुरक्षाको माग गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले बताए।

‘गाउँपालिकाकै अध्यक्षको छोराले हातपात र दुर्व्यवहार गर्दा काम गर्ने वातावरण भएन, हामीलाई सुरक्षा चाहियो भनेर प्रजिअलाई स्पष्ट भनेका छौं,’ उनले भने, ‘आजै हामीले मुद्दा प्रक्रियाका बारेमा कानुन व्यवसायीसँग भेटेर राय लिएका छौं।’

प्रमुख जिल्ला अधिकारी कोइरालाले शुक्रबार पनि छलफल हुने बताएपनि त्यसबारे भने आफू जानकार नभएको उनले बताए।

‘भोलि फेरि हामी कर्मचारी मात्रै कसरी अगाडि बढ्ने भन्ने बारेमा छुट्टै छलफल गर्दै छौं,’ रिजालले भने, ‘प्रजिअज्यूसंग छलफल हुने कुरा भएको छैन।’

उनका अनुसार गाउँपालिकाका अध्यक्ष महतराले पनि उनलाई बिहीबार साँझ सम्पर्क गरी विवादको अन्त्य गर्न अनुरोध गरेका छन्। घटना हुँदा अध्यक्ष महरा कार्यालयमै रहेपनि प्रतिवाद नगरेको आरोप छ।

‘मैले उहाँलाई पनि काम गर्ने वातावरण भएन र सुरक्षा चाहियो भनेको थिए,’ रिजालले भने, ‘अध्यक्षज्यूले जे भयो भइगयो अब छलफल गरी कुरा मिलाउँ भन्नु भएको थियो।’

रिजालले न्यायको अनुभूति नभएसम्म काममा नफर्किने अडान लिएका छन्।

अध्यक्षका छोरा मिलनले बुधबार दिउँसो पुरा नभएको योजनाको एक लाख २० हजार रुपैयाँ भुक्तानी लिने विषयलाई लिएर रिजाल, योजना शाखाका दीपक जिसीमाथि हातपात गरेका थिए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Entity CPN M
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments