Incident Reports

गैरकानुनी रुपमा नियन्त्रण लिइ कुटपिट गरेको भन्दै मानवअधिकार आयोगमा उजुरी

2014-11-27

Sudurpashchim, Achham, Panchadewal Binayak

अछाम । ०७१ मङ्सिर १२ गते एक महिना अघि अछाम प्रहरीले नियन्त्रणमा लिएको गरगहना फिर्ता माग्न गएका छोरा नेत्रप्रसाद न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइ कुटपिट गरेको भन्दै विनायक-१ का रुपानन्द न्यौपानेले मङ्सिर ११ गते आयोगको क्षेत्रीय कार्यालय धनगढीमा उजुरी दिएका छन् । आफ्ना गरगहना फिर्ता माग्न निवेदन गर्न जाँदा उल्टै नियन्त्रणमा लिई हतकडी लगाएर यातना दिएको उजुरीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालयमा हतकडी लगाइ, घोप्टो पारेर पाइपले छोरालाई यातना दिएकाले आफूले न्यायका लागि आयोगमा उजुरी दिएको नेत्रका बुवा रुपानन्दले बताए । उजुरीमा मुद्दा फाँटका प्रहरी हबल्दार भुपेन्द्रसिंह सामन्तले छोरा नेत्रप्रसादलाई सामान फिर्ता नमाग्न र नेपाल छाडेर तुरुन्त भारत जान भन्दै नत्र म जे गर्नपनि सक्छु भन्ने धम्की दिएको जनाइएको छ । उजुरी पत्रमा आफ्नो छोरा नेत्रप्रसादको स्वतन्त्रतापूर्वक वाँच्न पाउने अधिकार र आफुले वैद्य तरिकाबाट कमाएको सम्पति उपभोग गर्न पाउने अधिकारको रक्षाका गरिदिन माग गरिएको छ । जिल्ला प्रहरी कार्यालय अछामले यातना नदिएको जानकारी दिएको छ । "हामीले कसैलाई पनि थुनेर कुटेका छैनौँ ।" अछाम प्रहरी प्रमुख डिएसपी दिपेन्द्र शाहीले भने । एक महिना अघि उक्त गरगहाना नेत्रप्रसादले भारतबाट चोरी गरी ल्याएको भनि विनायक इलाका प्रहरी कार्यालयमा उजुरीपछि गरगहना प्रहरीले बरामद गरेको थियो । भारतबाट चोरी गरी गरगहना ल्याएको भन्दै नेत्रकै आफन्तले प्रहरीमा उजुरी गरेपछि कार्तिक ४ गते विनायक प्रहरीले गरगहना सहित नेत्रप्रसाद १० गतेसम्म नियन्त्रणमा लिएको थियो । चोरी गरी ल्याइएका भनिएका गरगहना जिल्ला प्रहरी कार्यालय अछामले कात्तिक १० गते नै इन्टरपोलमा पठाइसकिएको बताएको छ । शिवराज ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis