Incident Reports

तराईका दुई सशस्त्र समूहले हतियार बुझाए

2014-12-07

Manohar Kumar Pokharel सप्तरी । ०७१ मङ्सिर २१ गते मधेश राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी) का अध्यक्ष रणवीर सिंह भनिने रामनारायण यादव र तराई संयुक्त जनक्रान्ति पार्टी नेपालको वार्ता समितिका संयोजक भुवनेश्वर मण्डलले केही हतियार मङ्सिर २१ गते सरकारलाई बुझाएका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारीको निवासमा एक समारोहबीच संविधानसभा संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको प्रारम्भिक वार्ता उपसमितिका संयोजक आनन्दप्रसाद ढुङ्गानालाई उनीहरुले हतियार बुझाएका हुन् । अध्यक्ष यादवले एक थान एसएमजी, तीन थान राइफल र सोमा लाग्ने पाँच थान गोली, एक थान कटुवा पेस्तोल र चार थान १२ बोरको कार्टिज, एक थान म्याग्जिन र छ थान गोली, दुई वटा निओजेल र एउटा क्यामेरा फ्लेक्स बुझाएको सिडिओ वीरेन्द्र कुमार यादवले जानकारी दिए । संयोजक मण्डलले एक थान राइफल र सो मा प्रयोग हुने १५ थान गोली तथा एक थान मास्केट बुझाएका छन् । हतियार बुझदै सरकारी वार्ता उपसमितिका संयोजक ढुङ्गानाले सहमतिअनुसारको हतियार व्यवस्थापनले संविधान निर्माणमा सहयोग पुग्ने बताउँदै ऐन, कानुनलाई परिवर्तन गरेर भएपनि राजनीतिक रुपमा उठेका हतियारलाई विश्राम दिने प्रतिबद्धता व्यक्त गरे । जनतान्त्रिक पार्टी (क्रान्तिकारी) का अध्यक्ष यादव र जनक्रान्ति पार्टी संयोजक मण्डलले संवाद र सहमतिबाटै मागहरु पुरा हुने र नेपाली जनताको चाहनाअनुरुपको संविधान र शान्ति स्थापना हुने विश्वास व्यक्त गरे । उनिहरुले बन्दी कार्यकर्ताहरुको रिहाइको प्रकृया सुरु गर्न दोस्रो चरणको वार्ताको आग्रह समेत गरे । यसअघि ०७१ मङ्सिर ३ गते राजविराजमा अखिल तराई मुक्ति मोर्चा (अजित सिंह समूह) का संयोजक अजित सिंह भनिने अजय यादवले प्रजिअ यादवलाई नौ थान हतियार बुझाएका थिए । प्रारम्भिक वार्ता उपसमितिले ०७१ साउन २५ गते जनतान्त्रिक पार्टी (क्रान्तिकारी) का यादव, अजित सिंहलगायत संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक कौटिल्य शर्मा भनिने संजय गुप्ता, मधेशी भाइरस किलर्सका संयोजक जयप्रकाश यादव, जनतान्त्रिक तराई मुक्ति मोर्चा पृथ्वी समुहका महाराज यादवसँग वार्ता गरी सहमति गरेको थियो । जनक्रान्ति पार्टी वार्ता समितिका संयोजक मण्डलसँग ०७१ असोज १२ गते वार्ता गरी सहमति भएको थियो । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis