Incident Reports

अटेर गरी बालश्रमिक राख्ने होटल मालिकहरूलाई कारबाही गरिने

2015-01-14

पटकपटक बालश्रमिक हटाउन आग्रह गर्दा पनि अटेर गर्ने रामेछापका तीन ओटा होटलहरू उपर कारबाहीको लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने निर्णय भएको छ । बाल श्रम न्युनिकरण तथा संरक्षणका लागि जिल्ला स्तरीय संयन्त्रको ०७१ साल पुस ३० गते बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले सदरमुकाम मन्थलीको नेवारी खाजा, गाल्पली भोजनालय र रामेछाप बजारको डायमण्ड होटल माथि कारबाहीको लागि कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । ती होटलहरूमा राखिएका बालश्रमिक हटाउनको लागि बारम्बार आग्रह गर्दा पनि होटल सञ्चालकले अटेर गरेका कारण कारबाहीको लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरिएको संयन्त्रका सदस्य सचिव जिल्ला बालकल्याण अधिकृत बलराम लामाले बताउनु भयो । बैठकले मन्थली बजार र पुरानो सदरमुकाम रामेछाप बजारमा पुनः बजार अनुगमन गरी बालश्रमिक राखेको पाइएमा उनीहरू माथि पनि कानुनी कारबाहीको लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । संयन्त्रमा इन्सेक जिल्ला प्रतिनिधिका साथै जिल्ला विकास समिति, शिक्षा कार्यायल, प्रहरी, महिला तथा बालबालिका कार्यालय, गैसस महासङ्घ, बार एसोसिएशनलगायतका जिल्लाका बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाका प्रमुख एवम् प्रतिनिधि सदस्य छन् । नवराज पथिक

0 Comments