Incident Reports

३० सवारीसाधनमा तोडफोड र आगजनी

2015-01-20

Nepal

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले मंगलबार गरेको बन्द हिंसात्मक भएको छ। देशव्यापी बन्दमा राजधानीभित्र र बाहिर दर्जनांै सवारीसाधन तोडफोड र आगजनी भएका छन्। सञ्चारमाध्यमका सवारीसाधन र सञ्चारकर्मीमाथि समेत उच्छृंखल बन्दकर्ताले हातपात गरेका छन्। बन्दले राजधानीसहित देशभरको जनजीवन प्रभावित भएको छ। बन्दकर्ताहरू बिहानैदेखि सडकमा उत्रिएका थिए। बन्दको अवज्ञा गरेको भन्दै सवारीसाधनमाथि तोडफोड र आगजनी गरेका छन्। गृह मन्त्रालयका अनुसार देशैभरि १२ सवारीसाधनमा आगजानी र १८ सवारीसाधनमाथि तोडफोड भएको छ। प्रहरी मुख्यालयका अनुसार बन्दको प्रभाव सबैभन्दा बढी काठमाडौंमा परेको छ। बन्दकर्ताले काठमाडौंमा १२, ललितपुरमा दुई र भक्तपुरमा एक सवारीसाधन तोडफोड गरेका छन्। कास्कीमा चार, चितवनमा तीन, बाँके र मकवानपुरमा दुई/दुईवटा सवारीसाधनमा क्षति पुर्‍याएका छन्। सिरहा, झापा, महोत्तरी र डडेलधुरामा एक-एकवटा सवारीसाधनमा क्षति पुर्‍याएका छन्। बन्दकर्ताले लतिपुरको झम्सिखेल ठाडो ढुंगामा चालकलाई समेत भित्रै राखेर बा१ज ८०६४ नम्बरको टयाक्सीमा आगजानी गरेका थिए। आगो लाग्नेबित्तिकै चालक धर्म मगर चलाखीपूर्वक बाहिर निस्केका कारण उनी सकुशल छन्। आगलागीबाट टयाक्सी पूर्ण रूपमा क्षति भएको छ। बानेश्वरमा कूटनीतिक नियोगको मोटरसाइकलमा समेत तोडफोड गरिएको छ। बन्दकर्ताले बागबजारमा बा४६प १८७५ नम्बरको स्कुटरमा आगजनी गर्दा चालकसमेत घाइते भएका थिए। बिजुलीबजार पुलमा पनि मोटरसाइकलमा बन्दकर्ताले आगजानी गरेका छन्। गृह मन्त्रालयका अनुसार जबर्जस्ती बन्द गर्दै हिँड्ने, सवारीसाधन तोडफोड र आगजानी गर्ने ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। संसद भवनमा बैठक स्थगित भएपछि १९ दलका एक सय ४८ सभासद दक्षिणतर्फको गेटबाट नाराजुलुस गर्दै बाहिर निस्किएका थिए। उनीहरू प्रशासनले तोकेको निषेधित क्षेत्रभित्र हुँदै बाहिरिएका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीका व्यक्तिगत सुरक्षा अधिकृतले हाते साङ्लो बनाएर जोगाउँदै लगेका थिए। बुद्धनगरको धोबीखोला पुलवारि सुरक्षा निकायले निषेधित क्षेत्र दर्शाउन राखेको काँडेतारका बार भत्काएका थिए। त्यही क्रममा दुई पक्षबीच सामान्य दोहोरो झडप भएको थियो। नाराबाजी गर्दै बबरमहल क्षेत्रतिरबाट आएका प्रदर्शनकारीको हुलले काँडेतार पन्छाएका थिए। हातमा लाठी लिएकाहरूले बार भाँचे पनि प्रहरीले कुनै हस्तक्षेप गरेन। सुरक्षाकर्मीमाथि बन्दकर्ता जाइलागेपछि प्रहरीको गाडीमा राखेर दाहाललाई संविधानसभा भवनतर्फ लगिएको प्रहरीले जनाएको छ। नेताहरू देखेर उत्साहित भएका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा माओवादी नेता जनार्दन शर्मालगायत घाइते भएका छन्। झडपमा प्रहरी पनि घाइते भएका छन्। एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, अनुशासन आयोग प्रमुख अमृतकुमार बोहोरा संविधानसभा बैठकमा भाग लिन जान चढेको सशस्त्र प्रहरीको गाडीमा बिजुलीबजारमा आक्रमण भएको थियो। उक्त आक्रमणको एमाले संसदीय दलले भत्र्सना गरेको छ। राजधानीको माइतीघर र भक्तपुरमा बन्दविरोधी प्रदर्शन भएको थियो। माइतीघरमा बन्दकर्ता र बन्दविरोधीबीच समान्य झडपसमेत भएको थियो। बन्दकर्ता र बन्दविरुद्ध निस्केका स्थानीयबीच झडपको स्थिति नआओस् भनेर सुरक्षाकर्मीले पूर्वसतर्कता अपनाएपछि स्थिति नियन्त्रणमा लिन सकिएको गृह मन्त्रालयले जनाएको छ।

0 Comments