Incident Reports

सडक आन्दोलन गर्ने विपक्षीकाे निर्णय

2015-01-26

Bagmati, Kathmandu, Kathmandu

एमाओवादीसहितको विपक्षी मोर्चाले बहुमतीय प्रक्रियामा जाने सत्तारुढ दलको निर्णयविरुद्ध सडक आन्दोलन गर्ने घोषणा गरेको छ । आज सिंहदरबारमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । आइतबारको संबिधानसभा बैठकमा सभाध्यक्ष सुबासचन्द्र नेम्वाङले प्रस्ताव समिति गठनको प्रस्ताव आफैं पढेपछि हिजोदेखि विपक्षी आन्दोलनमा छन् । हिजो आइतबार साँझ विपक्षीहरुले सभाध्यक्ष सुबास नेम्वाङविरुद्ध प्रतिकात्मक सभा गरेका थिए भने केही ठाउँमा उनको पुत्लासमेत दहन गरिएको थियो । आज बैठकबारे जानकारी दिंदै मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सत्तापक्षले विपक्षीलाई पेलेर जान खोजेको आरोप लगाए । उनले दुई तिहाई बहुमतबाट संबिधान निर्माणको प्रक्रिया थालेर सत्तारुढ दलले यसअघिका सबै सहमति र सम्झौंता उल्लंघन गरेको आरोप लगाए । सडक आन्दोलनको स्वरुपबारे विपक्षी मोर्चाले आज साँझसम्म निर्णय गर्ने जनाएको छ । सिंहदरबारमा बसेको १९ दलीय मोर्चाले संबिधानसभा बाहिर रहेका आफ्नो घटक नेकपा-माओवादीलगायतका दलसँग गरेर आन्दोलनको कार्यक्रम अनुमोदन गराउने भएको हो । विपक्षी मोर्चाको हिजोको बैठकले सत्तारुढ दल र सभाध्यक्ष सुबास नेम्वाङसँग निर्णय नसच्याएसम्म वार्ता नगर्ने निर्णय गरेको थियो । संबिधानसभामा बहुमतीय प्रक्रिया सुरु गर्ने सत्तारुढ दलको निर्णय लगत्तै एमाओवादीसहितको विपक्षी मोर्चाले माघ ५ गतेदेखि संबिधानसभामा नाराबाजी गरेको थियो । नाराबाजीका बाबजुत पनि आइतबारको बैठकमा सभाध्यक्ष नेम्वाङले प्रस्ताव समिति गठन गरेका थिए ।

0 Comments