नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीले निजी विद्यालयले सहमति अनुसार विदेशी नाम परिवर्तन र शुल्क समायोजन नगरेको भन्दै आन्दोलनको घोषणा गरेको छ ।
केन्द्रीय समितिको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै संगठनका अध्यक्ष शरद रसाइलीले शुल्कसम्बन्धी सहमति अनुसार सरकारले अनुगमन नगरेको आरोप लगाए । बिना छलफल हचुवाको भरमा निजी विद्यालयले शुल्क निर्धारण गरेको उनको दाबी छ ।
समायोजन गरिएको भनिएको शुल्क फिर्ता लिएर सरोकारवालासँग छलफल गरी नयाँ शुल्य निर्धारण गर्न अखिल क्रान्तिकारीले माग गरेको छ। सरकार गैरजिम्मेवार बनेकाले निजी क्षेत्र ‘व्यापारीकरण र दलालीकरण’मा लागेको रसाइलीको आरोप छ ।
‘शुल्क फिर्तासम्बन्धी विगतमा भएको सहमति, विदेशी नाम परिवर्तन, शुल्कवृद्धि, शैक्षिक माफियाकरणसम्बन्धी जोडदार संघर्ष गरिनेछ’ पत्रकार सम्मेलनमा बाँडिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।
संगठनको २० औँ राष्ट्रिय सम्मेलन २०७२ वैसाख १३ देखि १६ गतेसम्म चितवनमा गर्ने निर्णयसमेत केन्द्रीय समितिले गरेको छ । यसका लागि ८४ सदस्यीय मूल आयोजक समिति बनाई कार्यविभाजन समेत गरिएको कार्यक्रममा जानकारी दिइयो।