Incident Reports

अपराध नियन्त्रणका लागि विद्यार्थी बन्दै शान्तिदूत

2015-03-10

Lumbini, Banke, Nepalgunj

अपराधिक गतिविधि नियन्त्रणका लागि विद्यार्थीलाई शान्तिदूतका रुपमा प्रयोग गर्ने कार्यक्रम अन्तर्गत नेपालगन्जमा विद्यार्थीहरुको सहभागितामा शान्ति र्‍यालीको प्रदर्शन गरिएको छ । प्रहरी नागरिक हातेमालो विद्यार्थी शान्तिदूत कार्यक्रम अन्तर्गत भएको र्‍यालीमा बाँकेका दर्जनौं विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता थियो । नेपालगन्जमा मंगलबार विशाल शान्ति र्‍याली प्रदर्शन गरिएपछि बुधवारदेखि १६ देखि २५ बर्ष उमेर समूहका विद्यार्थीलाई तीन दिनसम्म क्षेत्रीय प्रहरी तालिम केन्द्रमा अपराधको खोजी र नियन्त्रणका विषयमा प्रशिक्षण गरिनेछ । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुशील सिंहका अनुसार पहिलो चरणमा २६ विद्यालयका ५२ विद्यार्थीसहित बाल क्लवका प्रतिनिधि र सहयोगी शिक्षक गरि ७० भन्दा धेरैलाई तालिममा सहभागी गराइनेछ । तालिमपछि छनौटमा पर्ने करिब २० जना विद्यार्थीले शान्तिदुतको रुपमा विद्यालय र समाजमा सचेतनामुलक कार्यक्रम संचालनका लागि प्रहरीलाई सहयोग गर्नेछन् । प्रहरी नागरिक हातेमालो विद्यार्थी शान्तिदुत कार्यक्रम संचालन गर्नका लागि जिल्ला स्तरीय सल्लाहकार समिति र संचालन समिति गठन गरिएको छ । कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख केशब अधिकारीले नेपालगन्ज क्षेत्र मध्यपश्चिमकै अपराधिक गतिविधिका हिसावले उच्च संवेदनशिल भएका कारण विद्यार्थीलाई शान्तिदुत बनाएर कार्यक्रम संचालन गर्न लागिएको जानकारी दिनुभयो ।
National/Online Media

0 Comments