Incident Reports

बालगृहबाटै १६ को उद्धार

2015-03-19

Bagmati, Kathmandu, Kathmandu

बालकल्याणको अनुगमन क्रममा बालगृहको आवश्यक मापदण्ड पूरा नगरी असुरक्षित अवस्थामा राखिएको भन्दै उद्धार गरेको हो। सानो ठाउँमा धेरै बालबालिकालाई कुनै पनि सुविधा नदिई राखिएको भन्ने सूचनाका आधारमा टोली त्यहाँ पुगेको थियो। टोली सदस्य नमुना भुषालका अनुसार तीन वटा कोठालाई भान्छा, खाना खाने र सुत्ने कोठा बनाएर १६ जना राखिएको थियो। बालक र बालिका एउटै कोठामा थिए। शौचालय फोहर, बालबालिका फोहरी तथा खानाको उचित व्यवस्थापन नभएको अवस्थामा उद्दार गरिएको हो। ‘कोठामा बत्तीसमेत थिएन,' समिति सदस्य भुषालले भनिन्। उद्धार गरिएका बालबालिकालाई बुधबार नै बुढानिलकण्ठस्थित ‘हिमाली नवीन समाज'बालगृहमा लगेर राखिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। ‘उद्धार गरिएका बालबालिकामध्ये छानबिन गरी कतिपयलाई पारिवारिक सम्पर्कमा पुर्या्उने र कतिपयलाई उचित बालगृहमा संरक्षण दिनेछौं,' जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक जिल्ला प्रशासन अधिकारी सुरेन्द्र पौडेलले भने। पौडेलका अनुसार बालबालिका एक जना वृद्ध महिलाको भरमा राखिएको, बालगृह रहेकै भवनमा पुराना औषधि तथा उपकरण राखिएकाले यो विषय पनि बालगृह मापदण्डविरुद्ध रहेको बताए। ‘हामीले मेडिकल उपकरण जफत गरी औषधि व्यवस्था विभागलाई बुझाएर छानबिन अघि बढाउँदैछौं,' पौडेलले भने। बालबालिकाका नाममा दुई वटा भवन लिएको देखाइए पनि तीन कोठामा सीमित गरिएको टोलीको आरोप छ। ‘विदेशीले सहयोग गरेर सञ्चालन गरेको जानकारी छ, त्यो अनुसार व्यवस्थापन देखिएन,' भुसालले भनिन्। बालगृहकी मुख्य सञ्चालक शर्मिला मैनाली हाल दुबईमा रहेको र शर्मिलाले आमा मानेकी महिला इन्दिरा फुयाँल बालगृहमा रहेकाले संरक्षण र हेरचाहसमेत अत्यन्त कमजोर भएको बालकल्याण समितिका अधिकारीले बताए। बालगृह सञ्चालिका र संरक्षकका रुपमा रहँदै आएका दुवै महिला शर्मिला मैनाली र शर्मिला फुयाँलसँग भने सम्पर्क हुन सकेन।

0 Comments