Incident Reports

रौतहटमा प्रहरीबाट हिंसा भएको आयोगको भनाइ

2015-04-06

रौतहट जिल्लाको सरकारी कार्यालयहरूको सेवा केन्द्र बिस्तारसम्बन्धी विषयलाई लिएर गौरमा भइरहेको विरोध प्रर्दशनमा प्रहरीले ‘हिंसा’ गरेको आयोगले जनाएको छ । विरोध प्रर्दशनको क्रममा प्रहरीले सर्वसाधारणको घरभित्र प्रवेश गरी कुटपिट गरेको, समाचार सङ्कलनका लागि खटिएका सञ्चारकर्मीहरू तथा अनुगमन गरिरहेका मानव अधिकारकर्मीहरूमाथि हिंसा भएको, समुदायलाई होच्याउने भाषा तथा महिलाहरूमाथि अपशब्द प्रयोग गरिएको पाइएको आयोगले जनाएको छ । प्रदर्शनकारीहरूबाट ढुङ्गा मुढा प्रयोग तथा आगजनीजस्ता कार्यहरू भएका तथ्यहरू प्राप्त भएको र यसक्रममा प्रदर्शनकारी र प्रहरी दुवैतर्फ घाइते भएको पाइएको छ । जिल्लाको सबगाडामा चैत २० गते सशस्त्र प्रहरीको भ्यान पुग्दा सो स्थानमा जम्मा भएका करिब तीनचार सय जनाको समूहले होहल्ला गरेपछि भ्यान पछाडि सार्न लाग्दा भ्यानको ठक्कर लागेर गौर नपा¬–१० का ५० वर्षीय रामआशिष ठाकुरको मृत्यु भएको आयेगको विज्ञप्तिमा जनाइएको छ । यसैविषयमा चैत २२ गते आयोगले गृहमन्त्रालयका सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक लगायतका अधिकारीहरूलाई आयोगमा बोलाएर छलफलसमेत गरेको छ । छलफलमा अधिकारीहरुले प्रहरी प्रशासनले संयमता अपनाइरहेको तथा अत्याधिक बल प्रयोग भएका घटनाहरू भएमा छानबिन गरिने प्रतिबद्धता व्यक्त गरेको पनि आयोगले जनाएको छ । ‘लोकतान्त्रिक शासनव्यवस्थामा सर्वसाधारणले घरदैलोबाटै सेवा प्राप्त गर्न पाउनु जनताको नैसर्गिक अधिकार हो । यस्ता विषयहरूमा निर्णय एवं त्यसको कार्यान्वयन गर्दा जनसङ्ख्याको अनुपात र भौगोलिक अवस्थासमेतलाई मध्यनजर राखी पर्याप्त अध्ययन र सम्बन्धित सेवाग्रहीहरूसँग परामर्श गरी त्यस्तो सेवालाई समानताको सिद्धान्तको आधारमा समानुपातिक ढङ्गले सेवा बिस्तार गर्नु आवश्यक देखिएको तर्फ आयोग सम्बन्धित सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदछ ।’–विज्ञप्तिमा जनाइएको छ ।

0 Comments