Incident Reports

उपनिर्वाचनमा मतदान सुरु

2015-04-11

Gandaki, Baglung, Baglung, Ward 2

बागलुङ क्षेत्र नं १ को संविधानसभा उपनिर्वाचनमा आज बिहान ७ बजेदेखि सबै मतदान केन्द्रमा मतदान सुरु भएको छ । उन्नाइस गाविस र एक नगरपालिका गरी ३५ मतदानस्थलमा रहेको ७० मतदान केन्द्रमा मतदान सुरु भएको हो । आज ७ बजे अघि नै मतदान केन्द्रमा मतदाताको भीड लागेको छ । मतदाता उत्साहका साथ मतदान गर्न लामबद्ध बनिरहेका छन् । साँझ ५ बजेसम्म मतदान कार्य चल्ने जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए । यस क्षेत्रमा ५२ हजार २०२ मतदाता रहेका छन् । यो उपनिर्वाचनमा मतदानको दर बढ्ने अनुमान गरिएको छ । मतदान अवधिभर मतदान केन्द्रको सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । भित्री घेरामा जनपद प्रहरी र बाहिरी घेराबाट सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निर्वाचन सुरक्षाको लागि सशस्त्र प्रहरीका आठ र जनपद प्रहरीका सात वटा मोबाइल टोली परिचालन गरिएको छ । राष्ट्रिय अनुसन्धानका गुप्तचर कर्मचारीलाई पनि सबै मतदान केन्द्रमा खटाइएको छ । राजनीतिक दलका १० र तीन स्वतन्त्र गरी १३ उम्मेदवार उपनिर्वाचनको मैदानमा छन् । अघिल्लो निर्वाचनमा विजयी बनेको नेपाली कांग्रेसको तर्फबाट स्व. सभासद् हरिबहादुर खड्काकी श्रीमती चम्पादेवी खड्का उम्मेदवार छन् । एमालेबाट वैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसी उम्मेदवार छन् भने एमाओवादीबाट कृष्णबहादुर केसी उपनिर्वाचनको मैदानमा छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाबाट नेत्रबहादुर बुढाथोकी, राप्रपा नेपाल र राप्रपाबाट साझा उम्मेदवारको रुपमा नवीनचन्द्र शर्वुजामगर, नेपाल परिवार दलको तर्फबाट बाबुराम शर्माले उम्मेदवार रहेका छन् । नेकपा (माले)का तर्फबाट कुलबहादुर किसान उम्मेदवार रहेका छन् । सङ्घीय समाजवादीको तर्फबाट रेशम थापामगर चुनावी मैदानमा छन् । यसैगरी राष्ट्रवादी एकता पार्टीका तर्फबाट क्षेत्रप्रताप थापा र राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट रुकबहादुर पुज उम्मदेवार छन् । स्वतन्त्र उम्मेदवारको रुपमा तुलसी थापा, नैना केसी र सरस्वती पन्त मैदानमा छन् । गत निर्वाचनमा नेपाली काँग्रेसका स्व सभासद् हरिबहादुर खड्काले १३ हजार ५०० मत प्राप्त गरी विजयी भएका थिए । गत मङ्सिरमा सडक दुर्घटनामा परी सभासद् हरिबहादुर खड्काको निधन भएपछि रिक्त स्थान पूर्तिका लागि उपनिर्वाचन भएको हो ।
National/Online Media

0 Comments

Related Reports