Incident Reports

बढ्यो महिला हत्या

2015-04-18

Gandaki, Nawalparasi East, Binayee Tribeni, Ward 3

चालू आर्थिक वर्षको ९ महिनामा महिला हिंसाका डेढ दर्जनभन्दा बढी उजुरी कपिलवस्तु प्रहरीमा परेका छन् । तीमध्ये ८० प्रतिशत बढी मेलमिलापमा टुंगिएका छन् । दाइजो नल्याएको, छोरा पाउन नसकेको, चरित्र राम्रो नभएको भन्दै महिलामाथि यातना र कुटपिट हुनेे गरेको छ । गत चैत २६ गते नवलपरासीको अर्खला ९ कोखेका २३ वर्षीय होमबहादुर विकले श्रीमती २१ वर्षीया रीताको घाँटी छिनाले । १२ घन्टा नबित्दै उनी पक्राउ परे । उनले प्रहरीमा दिएको बयानमा श्रीमती सधैं माइत जान खोज्ने र मदिरा सेवन गरेर र्फकने उल्लेख गरेका छन् । त्यस दिन पनि माइत जान रोक्दा जिद्दी गरेपछि रिसको झोंकमा घाँटी रेटेको उनले बयान दिए । नवलपरासीकै नरम गाविसको मधुकोटमा २५ वर्षीय झविलाल गाहामगरले फुपू पर्ने ४५ वर्षीया नौसरा गाहामगरको घाँटी रेटेर हत्या गरे । नौसराको घरमा २ वर्ष किराना पसल चलाएका उनले घाटा बेहोरे । ३ महिनाको घर भाडा नतिरी पसल छाडे । गत पुस २० गते नौसराले ३ महिनाको भाडा माग्दा उनीहरूबीच झगडा पर्‍यो । आवेशमा झविलालले उनलाई भुइँमा पछारे र खुर्पाले हानेर हत्या गरे । १६ घन्टा नबित्दै प्रहरीले उनलाई पक्रेेर अदालतमा बुझायो । प्रहरी निरीक्षक हरिबहादुर बरुवाल आर्थिक कारणले नौसराको ज्यान गुमेको बताउँछन् । जिल्लामा पछिल्लो समय महिला हत्यामा वृद्धि भएको छ । तर कारण गम्भीर देखिँदैनन् । सामान्य विषयमा मनमुटाव बढ्दै जाँदा घटना हुने गरेको पाइएको छ । प्रहरीका अनुसार असमझदारीमा सरसल्लाह गर्ने परिपाटी नहुँदा अपराध बढेका छन् । अनुसन्धानबाट यस्ता घटनाको मुख्य कारण अत्यधिक मदिरा सेवन र पारिवारिक बेमेल रहेको खुलेको छ । जिल्लामा भएका पछिल्ला ४ घटनामा पनि मदिरा सेवन, लेनदेन व्यवहार र पतिपत्नीबीच झगडा प्रमुख कारण देखिएका छन् । नवलपरासीमा ६ महिनामा ४ महिलाको हत्या भएको छ । अपराधीलाई दण्ड दिन नसक्नु र समाजमा महिलालाई कमजोर मान्ने परम्पराले आक्रमण र हत्या भइरहेको अधिकारकर्मी सम्झना चौधरी बताउँछिन् । प्रहरी उपरीक्षक नलप्रसाद उपाध्याय भन्छन्, 'सामान्य रिस उठ्यो कि महिलामाथि आक्रमण गरिहाल्ने परिपाटी देखिएको छ ।' हत्यामा संलग्न अपराधीलाई पक्राउ गरेर कारबाही अगाडि बढाएको उनले जनाए । महिला हिंसाका घटना बढेपछि नवलपरासी प्रहरीले एक महिनादेखि जिल्लाका ६ नगरपालिका र केही गाविसमा सचेतना कार्यक्रम सुरु गरेको छ । शव उठेन गत माघ २ मा सुनवलकी ओसिन गुरुङ आफ्ना प्रेमी मनोज गुरुङको थकालीचोकस्थित घरमा मृत भेटिइन् । पोस्टमार्टम रिपोर्टमा चिकित्सकले 'आत्महत्या' हुन सक्ने उल्लेख गरेका छन् । तर उनका परिवार त्यसबाट सन्तुष्ट छैनन् । ओसिनका अभिभावकले हत्या दाबी गर्दै आएका छन् । उनीहरूले चितवनको भरतपुर अस्पतालमा राखिएको शव उठाउन अझै मानेका छैनन् । प्रेमी हिरासतमा छन् । आमा र बाबु धरौटीमा छुटे । घटनामा परिवारको संलग्नता रहेको पीडित पक्षको आरोप छ । तर, मनोजका अभिभावकले संलग्नता नरहेको बयान दिएका छन् । घटनापछि थप अनुसन्धान र छानबिनका लागि आएको विशेष टोलीले 'आत्महत्या' भनेपछि प्रहरीले थप अनुसन्धान गर्न छाडेको छ । कारण यौन पनि २०७१ भदौ १० को राति यौन सम्पर्क गर्न नपाएको झोंकमा मकवानपुरको बसामाडी २ का मानसिंह थोकरले ४४ वर्षीया पत्नी मनमायाको सुतेको अवस्थामा घाँटी थिचेर हत्या गरे । भट्टीमा मदिरा सेवन गरेर आएका उनले शारीरिक सम्पर्क गर्न पत्नीले अस्वीकार गरेको निहुँमा ज्यान लिएका थिए । फरार उनलाई प्रहरीले ३ महिनापछि गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गर्‍यो । प्रहरीसमक्ष उनले यौन सम्पर्क नदिएको झोंकमा हत्या गरेको बयान दिएका छन् । त्यस्तै २०७१ साउन ५ मा मकवानपुरकै मार्खु ३ का सुकराम भोम्जनले मदिरा सेवन गरेर ३४ वर्षीया पत्नी हरिमायाको खुकुरी प्रहार गरी हत्या गरे । आफूले चाहेका बेला शारीरिक सम्बन्धका लागि राजी नभएको रिसले मारेको बयान उनले प्रहरीमा दिएका छन् । भीमफेदी ६ दम्कीकी ४९ वर्षीय चम्पामायालाई ५५ वर्षीय पति रामचन्द्र सुनारले याैन सम्पर्क गर्न नदिएको रिसमा कुटपिट गरेर घरबाट निकालिदिए । भैंसे ६ की ४४ वर्षीय फूलमाया घलानलाई पनि पति लालबहादुरले ०७१ चैत २ गते मरणासन्न हुने गरी कुटपिट गरे । यौन इच्छा पूरा नगरिदिएकाले पीडा सहनुपरेको उनले बताइन् । जिल्लाका सहरीभन्दा ग्रामीण क्षेत्रमा यस्ता घटना हुने गरेका छन् । दिनभर शारीरिक श्रम गर्ने र साँझ परेपछि भट्टी छिर्ने पुरुषले घर पुगेर पत्नीलाई यातना दिने गरेको पाइएको छ । गाउँमा हातपात र यातनाका घटना दैनिक सार्वजनिक हुन्छन् । घरमै हिंसा पुरुषको इच्छा पूरा नगर्दा मात्र ज्यान गुमाउनुपरेको छैन । ग्रामीण क्षेत्रमा अहिले पनि बहुविवाह कायम छ । पुरुषले 'सौता' हाल्दा परिवारमा सिर्जना हुने झमेलाका कारण पनि महिलाले ज्यान गुमाउनुपरेको छ । मकवानपुरको भार्ता ९ पाख्रेकी ४६ वर्षीय तुलसीमाया मोक्तानको सौतापट्टकिा छोरा राजेन्द्रले १ वर्ष अघि हत्या गरे । मीठो पकाएर नखुवाएको भन्दै ज्यान लिएको अनुसन्धानबाट खुलेको थियो । 'यौन हिंसाका कारण गत वर्षर् २ को हत्या भयो,' प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले भने, 'यौन हिंसाबाट धेरै महिलाले पीडा भोगिरहेका छन् ।' यस्ता हिंसाबाट केहीले ज्यान गुमाएका छन् । कैयौं प्रताडित छन् । 'घरपरिवारको भय, त्रास एवं लाजले घटनालाई सार्वजनिक गर्दैनन्,' माइती नेपालकी कार्यक्रम संयोजक माया लामाले भनिन्, 'यौन हिंसाको खानी घर हो ।' पुरुषद्वारा मादक पदार्थ सेवन, बालविवाह र महिला आत्मनिर्भर नहुनु प्रमुख कारण रहेको उनले बताइन् । 'यौनजन्य हिंसा सहरी एवं ग्रामीण क्षेत्र दुवैमा छ भने महिलाको हत्या ग्रामीण क्षेत्रमा बढी छ,' जिल्ला प्रहरीको महिला सेलकी दीपा कार्कीले भनिन्, 'हत्या हुँदा महिला एकचोटि मर्छन्, तर यौनजन्य हिंसाबाट दैनिक मरिरहन्छन् ।' अधुरै दाम्पत्य दुई वर्ष पनि दाम्पत्य जीवन बिताउन नपाएकी बाराको पत्रहटी ९ की २० वर्षीया खुश्बु सहनी गाउँ नजिक खोला किनारको झाडीमा गाडिएको अवस्थामा भेटिइन् । घर बनाउन माइतीबाट पैसा मागेको भए उनी बाँच्ने थिइन् । पैसाका लागि मरिहत्ते गरेपछि विवाद बढ्दै गयो । उनले पैसा मगाउन कोसिस गरिरहिन् । तर माइतीबाट पैसा आइपुगेन । परिणाम उनको जीवन धरापमा पर्‍यो । 'सासू र ससुराले कुटेर दिदीको ज्यान लिए,' खुश्बुका भाइ दीपेन्द्र सहनीले भने, 'दिदीले पैसा नल्याएको निहुँमा जीवनबाट हात धुनुपर्‍यो ।' हत्या आरोपमा सासू अहिले थुनामा छिन् । घटना सेलाउन नपाउँदै पत्रहटी २ की २२ वर्षीया मोफिदुन नेसाको श्रीमान्, सासू र ससुराबाट हत्या भयो । हत्याको मुख्य कारण थियो नागरिकता बनाइदिनुपर्ने माग । नेसाका बाबु सैफुल्लाह भन्छन्, 'छोरीले नागरिकता बनाइदिन भनेपछि विवाद हुँदा ज्यान गुमाइन् ।' हरैया ३ की मञ्जुदेवी, कलैया १४ विश्वम्भरपुरकी ३५ वर्षीया ललितादेवी कुसवाहा र कुडवा ३ की १९ वर्षीया संगीतादेवी साहको दाम्पत्य जीवन सफल भएन । यस्तै प्रस्टोका ५ की १८ वर्षीया विन्दु ठाकुरलाई गाउँकै केटासित प्रेम गरेको भन्दै आफ्नै बाबु र काकाले जलाए । पछिल्ला वर्षयता जग्गामा स्वामित्व, यौन हिंसा तथा प्रेम सम्बन्ध, दाइजोलगायत कारणले महिलाको दाम्पत्य जीवन अधुरै रहने क्रम बढेको छ । कतिपयले नागरिकतासहित सम्पत्तिमा हक खोज्दा र सन्तान जन्माउन नसक्दा मृत्युवरण गर्नुपरेको छ । प्रहरी तथ्यांकअनुसार ३ वर्ष अवधिमा जिल्लामा कम्तीमा २० महिला मारिएका छन् । 'चेतना अभावले महिलाको जीवन समाप्त हुने अवस्था छ,' प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले भने, 'महिला जोगाउन सबै क्षेत्र सचेत हुनुपर्छ । परिवारबाट यस्ता घटना धेरै भइरहेका छन् ।' दोषी प्राय: सबै कानुनी दायरामा आइसकेको उनले बताए । कारक दाइजो दाइजोसम्बन्धी विवादमै गत चैत १ मा कपिलवस्तुको सीमावर्ती भिल्मी ९ भारतीय नागरिक मुलायम चमारले ससुरालीमै पत्नी किस्लावतीको हत्या गरे । चालू आर्थिक वर्षको ९ महिनामा महिला हिंसाका डेढ दर्जनभन्दा बढी उजुरी जिल्ला प्रहरीमा परेका छन् । तीमध्ये ८० प्रतिशत बढी मेलमिलापमा टुंगिएका छन् । दाइजो नल्याएको, छोरा पाउन नसकेको, चरित्र राम्रो नभएको भन्दै यातना र कुटपिट हुनेे गरेको छ । कमी आएन यस्ता घटनाविरुद्ध चेतनामूलक अभियान चलाउँदासमेत छोरीबुहारी मारिने क्रम रोकिएको छैन । गत वर्षदेखि एसियाली विकास बैंकको सहयोगमा प्रहरी, जिविस र महिला तथा बालबालिका कार्यालयले पारालिगल तथा सेवाप्रदायक संस्थाबाट हिंसा नियन्त्रणमा लाखौं खर्च गरिरहेको छ । 'छोरीबुहारी बचाउन गाह्रो छ,' बाराकी महिला अधिकारकर्मी निभा सिंहले भनिन्, 'बुहारीले दाम्पत्य जीवन बिताउन पाइराखेका छैनन् ।' छोरीबुहारीलाई एक थरीले परनिर्भर सम्झिने प्रवृत्ति र अर्कोतिर पुरुषको नियन्त्रणमा रहनुपर्ने बाध्यतले भविष्य समाप्त हुँदै गएको सिंहले बताइन् ।
National/Online Media

0 Comments