Incident Reports

अपहरित किशोर न्यौपाने फोनमा भने- 'ममी मलाई बचाउनुस्'

2011-08-07

Lumbini, Palpa, Tansen

पाल्पा सदरमुकाम तानसेनबाट १७ वर्षीय किशोर न्यौपानेको अपहरण भएको चार वर्ष पुगेको छ। उनको न त लाश भेटियो न सास। जनता उच्च माविमा कक्षा ११ मा पढ्ने तानसेन बारुदखानका किशोर अपहरणमा परेपछि उनको परिवार तानसेनबाट विस्थापित भएर गाउँ फर्किएका छन्। पाल्पाका प्रहरी प्रमुख डीएसपी सुमन तिमिल्सेनाले किशोर अपहरण प्रकरणमा प्रहरी हेडक्वाटरको समेत चासो रहेको बताए। उनले भने, 'यो मुद्दा प्रहरी हेडक्वाटरमा 'हाइ र्याङ्क अनसल्भ्ड केस' बनेको छ।' उनकै भनाइमा प्रहरी हेडक्वाटरको 'उच्च महत्वको तर असफल' यो मुद्दामा प्रहरी महानिरीक्षकले समेत चासो देखाएर अनुसन्धान प्रगतिबारे सोध्ने गरेका छन्। अनुसन्धानमा प्रयाप्त चासो नपुगेको परिवारको गुनासो छ। 'केन्द्रबाट र क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट विषेश टाली अनुसन्धानमा खटाउने आश्वासन पायौं,' किशोरका बुबा रामप्रसादले नागरिकन्युजसँग भने, 'तर टोली आएर अनुसन्धान गरेको थाहा पाएनौं।' उनले जिल्ला तहको अनुसन्धान प्रभावकारी नभएको बताए। 'सुरुमै टुंगोमा पुग्न लागेको अनुसन्धानलाई अन्तै मोडेर जिल्लामा चलखेल गरियो,' उनले भने 'केन्द्र तहबाटै अनुसन्धान भयो भने दोषी पक्राउ पर्नेछन्।' प्रहरीले किशोरको अपहरणमा संलग्न रहेको आशंकामा प्रारम्भिक अनुसन्धान चरणमा किशोरकै एक आफन्तलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा आफन्तकै संलग्नता रहेको भेटिएको भन्दै एक महिनासम्म उनलाई निगरानीमा राखेर अनुसन्धान गरेको थियो। तत्कालीन समयमा ती आफन्तले अपहरणकारीसँगको फोन वार्ताको रेकर्ड नष्ट गर्न र फिरौती माग्ने अपहरणकारीहरुसँग आफैं 'डिलिङ' गर्न अग्रसर भएको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो। अपहरणकारीले किशोरको आमा नूनाकुमारको मोबाइलबाट फिरौती मागेको फोन रेकर्ड नष्ट गर्ने प्रयास गरेको ती अफन्तलाई आरोप लागेको थियो। हिरासतमा राखेर अनुसन्धान अघि बढाएका तात्कालीन प्रहरी नायब उपरीक्षक गोबिन्द थपलियाले ती आफन्तविरुद्ध पीडितको किटानी जाहेरी लिन भने इन्कार गरेका थिए। प्रहरीले नै आफैं थप प्रमाण जुटाउने र दोषी पहिचान गर्ने भन्दै परिवारलाई किटानी जाहेरी दिनबाट थपलियाले रोकेका थिए। तर पछि रेकर्ड नष्ट गर्न प्रयास गरेकोबाहेक बढी प्रमाण प्रहरीले जुटाउन नसकेको भन्दै ती अफन्तलाई प्रहरीले छुटकारा दिएको थियो। डीएसपी तिमिल्सिनाका अनुसार यो मुद्दामा प्रहरी केन्द्रीय इन्टेलिजेन्स ब्यूरोको नजर छ। तर चार वर्ष भइसक्दा पनि किशोरको पत्तो नलाग्दा परिवार प्रहरीको अनुसन्धानबाट अस्वस्त छैनन्। 'छोरो हराएको चार वर्ष भयो, लास पनि छैन सास पनि छैन,' बुबा रामप्रसादले भने, 'सुरुमै प्रहरी अनुसन्धान कमजोर हुँदा अपहरणकारीलाई सघाउ पुग्यो, प्रहरीले हाम्रो किटानी जाहेरी पनि लिएन।' सदरमुकाम तानसेनको घर अलपत्रै छाडेर करिब ३० किलोमिटर पूर्वको गाउँ जल्पामा रामप्रसादको परिवार अपहरित किशोरको खबर कुरेर बसेका छन्। तानसेनकै विद्यालयमा पढ्ने छोरी र कान्छो छोरालाई पनि गाउँमै लगेर पढाएका छन्। किशोर २०६८ साउन २२ गते तानसेनको घरबाट बजारमा निस्केको बेला अपहरणमा परेका हुन्।

0 Comments