Incident Reports

पूर्वलडाकुलाई साढे ३ वर्ष जेल

2015-07-12

Gandaki, Manang, Neshyang, Ward 7

हतियारसहित पक्राउ माओवादी पूर्वलडाकु नवीनकुमार रोकालाई साढे ३ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना सजाय भएको छ। जिल्ला प्रशासन कार्यालय मनाङले आइतबार यस्तो निर्णय गरेको हो। एके ४७ राइफल, एउटा म्यागजिन र १८ राउन्ड गोलीसहित उनी गत वर्ष साउन १ मा मनाङको धारापानीमा पक्राउ परेका थिए। एमाओवादी नेता कालीबहादुर खामको ९ वर्षसम्म अंगरक्षकका रूपमा कार्यरत रोका रुकुम हुकामका बासिन्दा हुन्। अवैध हातहतियार बोकेको र यार्चा व्यापारीलाई लुटपाट गर्ने योजना बनाएको अभियोगमा ११ महिनादेखि कारागारमा रहेका रोकासहित ५ जनालाई प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माको इजलासले आइतबार कैद फैसला सुनाएको हो। मनाङ प्रशासनका सूचना अधिकारी सहायक प्रजिअ रामहरि शर्माका अनुसार रोकाका सहयोगीका रूपमा रहेका जाङ ९ रुकुमका ३८ वर्षीय उजरबहादुर रोकालाई १ वर्ष २ महिना १५ दिन, जाङ ९ रुकुम घर भई हाल चामे ५ मनाङ बस्दै आएका ३५ वर्षीय कुलकबहादुर रोकालाई १ वर्ष २ महिना, हुकाम २ रुकुमका १८ वर्षीय श्यामबहादुर विकलाई १ वर्ष १ महिना १५ दिन र मैकोट ३ रुकुमका २२ वर्षीय विक्रम पुनलाई १ वर्ष कैद निर्णय सुनाएको छ। उनीहरूको साथबाट प्रहरीले म्यागजिनसहित एके ४७ राइफल र त्यसमा लाग्ने १८ राउन्ड गोली, म्यागजिनसहित चाइनिज पेस्तोल १ नाल र त्यसमा लाग्ने ७ राउन्ड गोली साथै कटुवा पेस्तोल १ नाल, यसमा लाग्ने ७ राउन्ड गोली र एउटा खोका बरामद गरेको थियो। अन्य ५ जना अझै फरार रहेका प्रहरीले जनाएको छ। डीएसपी राजेन्द्रबाबु रेग्मीका अनुसार फरारको सूचीमा हुकाम २, रुकुम घर भएका एमाओवादी नेता ४० वर्षीय कालीबहादुर खाम, मैकोट ३ का २५ वर्षीय विश्वास पुन, मैकोट ३ का २२ वर्षीय फलबहादुर पुन र हुकाम ९ का ३० वर्षीय संगम रोका छन्। ‘उनीहरूको खोजी कार्य जारी छ,’ डीएसपी रेग्मीले भने, ‘पोहोरदेखि फरार उनीहरूलाई पक्राउ गर्न प्रहरी लागिपरेको छ।’ सहायक प्रजिअ शर्माका अनुसार फरार ५ जनालाई मुल्तवीमा राखिएको छ। गत वर्षको जेठमा डोल्पामा यार्चागुम्बु संकलनको विषयलाई लिएर आक्रमण र झगडा भएपछि उनीहरू मनाङमा लुक्न र लुट्ने योजना बनाउन आएको अनुसन्धानबाट खुलेको स्रोतले बतायो। घटनापछि प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएसँगै हतियारसहित उनीहरू पक्राउ परेको डीएसपी रेग्मीले बताए। मनाङमा ६ वर्षअघि ७ जना गोर्खालीको हत्या भएपछि यार्चाको सिजनमा प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएका बेला उनीहरू पक्राउ परेका हुन्।

0 Comments

Related Reports