Incident Reports

शुक्रवार भएको नेत्र बिक्रम चन्द को बन्द मा चालक लाई ओर्लिनै नदिई कन ट्याक्सीमा आगो लगाई दिएका छन्

2015-07-23

Bagmati, Kathmandu, Kathmandu, Ward 10

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले गरेको बन्दका क्रममा शुक्रबार दिउँसो सोह्रखुट्टेमा बा१ज २३०१ नम्बरको ट्याक्सीमा आगो लगाइयो । ट्याक्सीका चालक राकेश तामाङ आगो लगाइँदा ट्याक्सीभित्रै थिए । उनले घटनाबारे कान्तिपुरलाई यसरी बताए– मेरो नाम राकेश तामाङ हो । ३३ वर्षको भएँ, घर नुवाकोटको टुप्चे । बानियाँटार बस्छु । श्रीमती र छोराछोरी छन् । छोरी २ कक्षामा पढ्छिन्, छोरा भर्खर नर्सरीमा जान थालेको छ । मैले काठमाडौंमा ट्याक्सी चलाउन थालेको २०६३ सालदेखि हो । अर्काको भन्दा आफ्नै ट्याक्सी चलाउन पाए हुन्थ्यो भन्ने कसलाई हुन्न र ? मलाई पनि त्यस्तो लाग्थ्यो । ५–६ महिना अगाडि त्यो रहर पूरा भयो । सदाबहार फाइनान्समा जग्गा धितो राखेर ६ लाख ऋण लिएर ट्याक्सी किनें । ९५ मोडलको पुरानो ट्याक्सी भए पनि अझै २ वर्ष चलाउन पाइने भन्ने थियो । दुई वर्ष चलाउँदा ऋण तिर्ने पैसा उठिसक्थ्यो । केही दिनदेखि अब पुरानो मोडलको चलाउन नपाइने भन्ने कुरा पनि सुनिरहेको थिएँ । आज बन्द छ भन्ने मलाई थाहा थियो । तर, बिहानदेखि नै गाडी चलेका थिए । गाडी नचले आफ्नो कमाइ हुँदैन, घरमा कसरी बस्नु भनेर म निस्किएँ । ८ बजेतिर टिप भेटियो, दक्षिणकाली जाने । दक्षिणकालीमा मान्छे पुर्‍याएर हात्तीवन आएँ । हात्तीवनमा फुपू हुनुहुन्छ । फुपूलाई भेटेर म बानियाँटार फर्किदै थिएँ । तीन बजेतिर म सोह्रखुट्टे आइपुगें । सडकमा टन्नै ट्याक्सी चलिरहेका थिए । बन्दकर्ता पनि देखिएका थिएनन् । अहिले पनि यहाँ ट्याक्सी कुदिरहेका छन् । दुईजना मान्छेले मेरो ट्याक्सी रोकेर खाली हो भनेर सोधे । मैले कहाँ जाने भनेर सोध्दै थिएँ, ती मान्छेले केही पोका मेरो ट्याक्सीमा फ्याँके । के फ्याँके भनेर मेसो नपाउँदै गाडीमा आगो बलिसकेको थियो । म ट्याक्सीभित्रै थिएँ । आफ्नो गाडीमा आगो बलेको देखेर आत्तिएँ । अनि ट्याक्सीबाट झरें । बाहिर उत्रिएर हेर्दा त गाडी हवारहवार्ती बलिरहेको थियो । मान्छेहरू जम्मा भए । गाडीमा आगो लगाउने भने भागिसकेछन् । पोकोमा पेट्रोल थियो जस्तो लाग्छ, आगो लगाएर हानेका रहेछन् । दुई जनाको अनुहार मलाई याद छ, अरू को–को थिए, होस भएन । मेरो कपाल आगोले डढाएको छ । हातमा पनि आगोको रापले पोलेको छ । बेलैमा बाहिर ननिस्किएको भए ट्याक्सीसँगै म पनि जल्ने रहेछु । धन्न, निस्किइहालें । पछि प्रहरी आएर आगो निभायो । तर, ट्याक्सी कामै नलाग्ने गरी जलिसकेको छ । ट्याक्सीको बिमा गरेको छैन । फाइनान्समा ऋण छ । बल्ल चलाउन थालेको थिएँ । अब के गर्ने होला मैले केही सोचेको छैन । श्रीमतीलाई पनि केही भनेको छैन । थाहा त पाइसकी होला । सोह्रखुट्टे प्रहरीले केही मान्छे समाएको रहेछ । मलाई देखायो पनि । तीमध्ये कोही मेरो ट्याक्सी जलाउने थिएनन् । मेरो दिमागले केही काम गरेको छैन, हयाङ भएजस्तो भइरहेको छ । मेरो मनमा एउटै कुरो छ, अब ट्याक्सी कसरी चलाउने ? कहाँबाट ल्याउने ? ऋण कसरी तिर्ने ? 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Entity CPN M
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments