Incident Reports

नेपाली युवती तस्करी गर्न सघाएको आरोपमा एयर इण्डियाका २ जना कर्मचारी पक्राउ

2015-07-31

Bagmati, Kathmandu, Kathmandu, Ward 10

भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पपीडित नेपाली युवती तस्करीमा सघाएको भन्दै एयर इण्डियाका दुई जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। भारतीय टेलिभिजन एनडिटिभीले जनाए अनुसार ती कर्मचारी नेपाली युवतीलाई दिल्लीको बाटो हुँदै दुबई जानका लागि नक्कली कागजात बनाउथे। सो टिभीका अनुसार यसअघि दिल्लीमा पक्राउ परेका नेपाली एजेन्ट विष्णु तामाङ र दयारामले प्रहरीलाई दिएको वयानका आधारमा एयर इण्डियाका कर्मचारी कपिल कुमार र मनिष गुप्तालाई प्रहरीले प्रक्राउ गरेको हो। उनीहरुको गिरोहले राम्रो जागिर र तलबको प्रलोभन देखाई २ सय ५० जना भूकम्पपीडित युवतीलाई दुबई पुर्याएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार जुन २१ मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ७ जना नेपाली युवती दुबई जाने क्रममा थिए। उनीहरुका कागजात हेर्दा अध्यागमनका कर्मचारीलाई शंका लागेपछि एयर इण्डियाका कर्मचारीको मिलेमतो रहेको रहस्य खुलेको हो। विमानस्थलका डिसिपी एम आई हैदरका अनुसार ती युवतीहरु स्थलमार्ग हुँदै भारत पुगेका थिए। त्यसपछि उनीहरु डोमेस्टिक फ्लाइटबाट अहमदावाद गए। अहमदावादबाट उनीहरुलाई अन्तर्राष्ट्रिय उडानबाट दिल्ली आउने व्यवस्था मिलाइयो। अन्तर्राष्ट्रिय उडानबाट आएका यात्रीलाई अर्को देश जानका लागि बोर्डिङ पास लिनु पर्ने नियम छ। त्यसका लागि इमिग्रेसन स्टाम्प र पहिलेको बोर्डिङ कार्ड देखाउनु पर्छ। तर एयर इण्डियाका कर्मचारीले ती युवतीलाई फर्जि कागजातका आधारमा बोर्डिङ पास दिए। विमानस्थलका अन्य कर्मचारीले सोधपुछ गर्दा ती युवतीबारे रहस्य खुल्यो। पक्राउ परेका कर्मचारीको बयानका आधारमा महिलपालपुर क्षेत्रबाट २१ जना नेपाली युवतीलाई पनि उद्धार गरिएको प्रहरी जनाएको छ। प्रहरीका अनुसार नेपाली युवतीको फर्जी बोर्डिङ पास बनाए वापत् एयर इण्डियाका कर्मचारीले ५ सय भारतीय रुपैयाँ पाउँथे। युवती तस्करी गिरोहमा संलग्न राजु नामका एजेन्टको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

0 Comments