Incident Reports

अधिकार माग्दै सडकमा महिला

2015-08-08

Bagmati, Kathmandu, Kathmandu, Ward 10

संविधानमा धर्म, क्षेत्रलगायतका हक माग्दै दिनहुँ जुलुस भइरहने, सिठी बजिरहने नयाँ बानेश्वरमा शुक्रबार फरक दृश्य देखियो । संविधान मस्यौदामा महिला हक कुण्ठित गरिएको भन्दै प्रदर्शनकारी महिला सडकमा सुते । मस्यौदाले आफ्नो जीवन अन्धकारमा धकेलेको उनीहरूको दुखेसो छ । महिला मानवअधिकार सञ्जालको आयोजनामा जम्मा भएका महिला अभियन्ता, अधिकारकर्मीले अंश र वंशको हकबाट आफूहरूलाई वञ्चित राख्न खोजेको भन्दै विरोध गरे । अन्तरिम संविधानभन्दा मस्यौदा पछि फर्केको उनीहरूको धारणा छ । अधिकारकर्मी विमला तामाङ र दीप्ति गुरुङले महिला सभालाई सम्बोधन गर्दै महिलामैत्री संविधान नबने मुलुकको आधा जनसंख्याले अस्वीकार गर्ने चेतावनी दिए । ‘हाम्रो अधिकार ग्यारेन्टी नहुँदासम्म यो आन्दोलन रोकिने छैन,’ गुरुङले भनिन्, ‘हाम्रो मानवअधिकार र आत्मसम्मानको रक्षा नगर्ने संविधान हाम्रा लागि मात्रै होइन, पुरुषका लागिसमेत स्वीकार्य हुन सक्दैन ।’ यो मस्यौदाले महिलामात्रै नभई पुरुषको नैसर्गिक हकसमेत कटाइदिएको उनीहरूले जिकिर गरेका छन् । नेताहरूले महिला हकका विषयमा राष्ट्रियताको मुद्दा उछालेर असंवेदनशील अभिव्यक्ति दिएको भन्दै वक्ताहरूले आक्रोश व्यक्त गरे । महिलाहरू आमा र बाबुको नामबाट वंशजको नागरिकता दिने प्रावधान खारेज गर्नुपर्ने, अन्तरिम संविधानबमोजिम नागरिकतासम्बन्धी व्यवस्था गर्नुपर्ने माग राखेर आन्दोलित छन् । समावेशी समानुपातिक पद्धति उल्लंघन गर्दै मस्यौदाले पुरुष सत्तालाई नयाँ ढंगले अघि बढाउन खोजेको उनीहरूको जिकिर छ । महिला अधिकारकर्मीहरूले ‘मेरो कोख, मेरो बच्चा, र होइन वा गर, प्रजनन हक मेरो मर्जी’ जस्ता नारा लगाए, प्लेकार्ड बोके । बीच सडकमा उनीहरू एक घन्टासम्म सुत्दा बानेश्वर–माइतीघर सडकखण्ड १ घण्टासम्म प्रभावित भएको थियो । अधिकारकर्मी सुविन मुल्मीले हरेक दिन हुने प्रदर्शनभन्दा मौलिक र रचनात्मक बाटो खोज्दै जाने क्रममा महिलाहरू सडकमा सुतेको कान्तिपुरलाई बताए । ‘यो महिलाको मात्रै मुद्दा हो भनेर पन्छिनु अन्याय मात्रै होइन, अपराधसमेत हो,’ उनले भने, ‘उहाँहरूलाई यतिखेर हामी पुरुषको समेत साथ चाहिएको छ ।’ जनआन्दोलनमा महिला/पुरुष सबै सक्रिय सहभागी भए पनि अधिकार दिने बेला हिजोका आन्दोलनकारी नेताहरूले अन्तत: पुरुष मानसिकता देखाएको आन्दोलनकारीले आरोप लगाएका छन् । उनीहरूले हरेक दिन माइतीघरदेखि बानेश्वरसम्म सिठी जुलुस, लालटिन र्‍याली, मानव साङ्लो, आँखामा पट्टी बाँध्नेजस्ता प्रदर्शन गर्दै आएका छन् । अरू दिनको कार्यक्रमभन्दा दोब्बर सहभागी देखिएको कार्यक्रममा पुरुषको उपस्थिति पनि उल्लेख्य थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Women's Rights Activists
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis