Incident Reports

नेपालमा निरन्तर भइरहेको हिंसाप्रति ओएचसिएचआरद्वारा चासो व्यक्त

2015-08-25

नेपालमा निरन्तर रूपमा भइरहेको हिंसाका घटनाप्रति संयुक्त राष्ट्रसङ्घीय उच्च आयुक्तको कार्यालय (ओएचसिएचआर) ले भदौ ८ गते विज्ञप्ति जारी गरी चासो व्यक्त गरेको छ । कैलालीमा भदौ ७ गते भएको प्रदर्शनमा सात जना प्रहरी र एक जना दुई वर्षीय बाललकको हत्या भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा जारी विरोध र हिंसालाई बेलैमा सम्बोधन नगरेमा आउने दिनहरूमा यस्ता घटनाहरूको जोखिम झनै बढ्ने तर्फ सचेत रहनुपर्ने उल्लेख गरिएको छ । दश वर्षको सशस्त्र द्वन्द्वको अन्त्य गरी विस्तृत शान्ति सम्झौतामार्फत शान्तिपूर्ण निकासमा लागेको नेपालमा यस्ता घटनाहरू हुनु दुःखद भएको उच्चायुक्तको कार्यालयले जनाएको छ । राजनीतिक नेताहरूलाई एक ठाउँमा बसेर हिंसा नियन्त्रण गर्न र परिस्थितिलाई शान्तिपूर्ण रुपमा समाधान गर्न पनि ओएचसिएचआरले आग्रह गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगले घटनाको स्वतन्त्र र निष्पक्ष रुपमा छानविन गर्न पनि ओएचसिएचआरले आग्रह गरेको छ ।

0 Comments