Incident Reports

निषेधाज्ञा हट्यो, नेपालगञ्ज सामान्य बन्दै

2015-08-28

Lumbini, Banke, Nepalgunj

बन्दकर्ता आफैँले बजार र सवारी साधन चल्न दिएपछि बाँकेको जनजीवन सामान्य अवस्थामै फर्किएको छ। स्थानीय प्रशासनले शुक्रबार बिहान ११ बजेदेखि नेपालगन्जको निषेधाज्ञा समेत हटाएको छ। नेपालगन्जको व्यापार, व्यवसाय शुक्रबार बिहानैदेखि खुलेको छ, भने सवारी साधन, उद्योग, कलकारखाना, शिक्षण संस्था लगायत सञ्चालनमा आएका छन्। दुई साताभन्दा बढी लामो बन्द, हड्तालले कष्टकर जीवन विताएका नेपालगन्जबासीले ठुलो राहत पाएका छन् । नेपालगन्ज, कोहलपुर बजारमा शुक्रबार बिहानैदेखि बजार खुलेको र यातायात साधन चलेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीका अनुसार नेपालगन्जबाट बाहिरी जिल्लाका लागि केही सार्वजनिक सवारी साधन पनि छुटेका छन्। नेपालगन्ज–कोहलपुर खण्डमा पनि सार्वजनिक बस तथा म्याजिक गाडी चल्न थालेका छन्। संयुक्त थरुहट मधेस संघर्ष समितिले सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै शुक्रबार र शनिबार दुईदिन बजार तथा साना सवारी साधन सञ्चालन गर्न दिने निर्णय बिहीबार सार्वजनिक गरेको थियो । संयुक्त संघर्ष समितिको लगत्तै बिहीबार दिउँसोदेखि यहाँको व्यापार, व्यवसाय सञ्चालनमा आएको थियो । यस्तै थरुहट संयुक्त संघर्ष समिति बाँकेका संयोजक चन्द्रबहादुर चौधरीले पनि छुट्टै विज्ञप्ती निकालेर भदौ १६ गते सम्मका लागि सम्पूर्ण यातायात साधन समेत चल्न दिने धारणा सार्वजनिक गरेपछि जनजीवन झनै सहज बनेको हो। जनजीवन सामान्य बनेपछि नेपालगन्ज उपमहानगर क्षेत्रमा परिचालन गरिएका प्रहरी र सशस्त्र प्रहरीको संख्या पनि कम गरिएको छ। बन्दका कारण असहज परिस्थिति सिर्जना हुन थालेपछि स्थानीय प्रशासनले नेपालगन्ज र कोहलपुरका विभिन्न क्षेत्रमा कफ्र्यू र निषेधाज्ञा जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले नेपालगन्जमा लगाउँदै आएको निषेधाज्ञा शुक्रबार बिहान ११ बजेदेखि अटाएको जानकारी दिए । नेपालगन्जको राँझादेखि जमुनाहा, फुलटेक्रादेखि नन्दनीमिल सम्म निषेधाज्ञा जारी गरिएको थियो । कोहलपुर क्षेत्रको निषेधाज्ञा भने यथावत रहेको र त्यहाँको स्थिती हेरेर पुर्नविचार गरिने लेखकले बताए । कोहलपुर क्षेत्रको कौशिलानगर, मदनचोक, चप्परगौडी र राँझा सम्मको क्षेत्रमा निषेधाज्ञा गरिएको छ ।

0 Comments