Incident Reports

मधेशी मोर्चाको आन्दोलनमा स्कूले विद्यार्थीहरूको प्रयोग

2015-09-17

सङ्घीय प्रदेश अन्तर्गत भएको सीमाङ्कनको विरोध र विगतमा मधेसी दल र सरकारीबीच भएको सम्झौता कार्यान्वयनको माग राख्दै मधेशमा जारी आन्दोलनको कारण लाखौँ विद्यार्थीहरु विद्यालय जानबाट बञ्चित भएका छन् । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको भए पनि आन्दोलनकारीले विज्ञप्ति नै जारी गरेर स्कूल बन्द गर्न चेतावनी दिएपछि विद्यालयहरु खुल्न सकेको छैनन् । यता विद्यालय बन्द भएपछि आन्दोलनमा स्कूले विद्यार्थीको प्रयोग भएको छ । आन्दोलनको नाममा विद्यालय बन्द भएपछि आन्दोलनमा स्कूले विद्यार्थीहरूलाई प्रयोगमा ल्याएको देखिएको छ । ६-७ वर्ष उमेरदेखि १५-१६ वर्ष उमेरसम्मका बालबालिकाहरू सडकमा टायर बालेर विभिन्न नारा लगाउँदै सडक अबरुद्ध बनाउँदै हिँड्ने गरेका छन् । जारी आन्दोलनको क्रममा गाउँ गाँउबाट स्कूले विद्यार्थीहरू आन्दोलन गर्न भन्दै सदरमुकाम जलेश्वर र विभिन्न ग्रामीण क्षेत्रमा प्रयोग भएको देखिन्छ । दलहरूले बालबालिका र विद्यालय शान्ति क्षेत्र हो, यसमा राजनीतिक हस्तक्षेप नगर्ने पटक पटक प्रतिबद्धता जनाएपनि त्यसो हुन नसकेको मानवअधिकारकर्मी तथा शिक्षक समेत रहेका मदन झाले बताए । बन्द हड्तालमा बालबालिका प्रयोग नगर्न भन्दै राजनीतिक दलहरूले प्रतिबद्धता गरे पनि सो प्रतिबद्धता व्यवहारमा लागु नहुँदा त्यसको असर अध्ययनरत स्कूले विद्यार्थीमाथि परिरहेको छ । हातमा, काँधमा स्कूले झोला र किताब बोकेर स्कूल जाने विद्यार्थीहरू अहिले बन्दमा हातमा ढुङ्गा र काँधमा साइकलका टायर बोकेर दैनिक ग्रामीण क्षेत्रमा रहेका राजमार्गमा बसिरहेका हुन्छन् । यसले बालबालिकामा मानसिक असरसमेत देखिने, आपराधिक कृयाकलापमा मन जानेलगायतका अल्पकालीन र दीर्घकालीन असरहरू देखिने ग्रामीण विकास विषयकी विद्यार्थी सञ्जिता रौनियारले बताइन् । आन्दोलनको नाममा विद्यालयको प्रयोग नगर्न र बालबालिकाको प्रयोग नगर्न आन्दोलनरत पक्ष र राज्य पक्ष दुवैले ध्यान दिनु आवश्यक रहेको निजी विद्यालयहरूको सङ्गठन महोत्तरीका प्याब्सनका उपाध्यक्ष इश्वरी पन्तले बताए । बालबालिकाहरूलाई विभिन्न स्वार्थको रुपमा प्रयोग गरिनु ठीक नभएको समेत उनको भनाइ छ । उनले बालबालिका आन्दोलनमा प्रयोग गरिनु आपत्तीजनक भएको भन्दै उनीहरुलाई सहजै विद्यालय जान पाउनुपर्ने वातावरण मिलाइदिन समेत सबैमा आग्रह गरे । आन्दोलनमा जसरी बालबालिकाको प्रयोग भएका छन्, त्यसले समाजमा नराम्रो असर देखिने नागरिक समाजका अगुवाहरु बताँउछन् । विगत ३४ दिनदेखि जारी आन्दोलनको कारण महोत्तरीका निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउन सकेका छैनन् । लामो समयदेखि जारी आन्दोलनको कारण जिल्लाका सामुदायिक तथा निजी विद्यालय खुल्न नसकेको कारण जिल्लामा झण्डै पौने दुई लाख विद्यार्थी स्कूल जानबाट बञ्चित भएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन आमहड्तालका कारण गत साउन २९ गतेदेखि नै विद्यालय बन्द रहेका छन् । जिल्लाका ४ सय ११ प्राथमिक, १ सय २७ निम्न माध्यमिक र ६५ ओटा माध्यमिक र ४२ उच्च मावि विद्यालयहरु आन्दोलनकारीको डरले बन्द भएको कारण १ लाख ६९ हजार ५ सय ८९ विद्यार्थीहरु पढाइबाट बञ्चित भएको जिल्ला शिक्षा अधिकारी अरबिन्दलाल कर्णले जानकारी दिएका छन् । जिल्ला शिक्षा अधिकारी कर्णका अनुसार प्राथमिक तहमा १ लाख २६ हजार ३ सय ६१, निमाविमा ३० हजार ८ सय १६, मावि तहमामा १० हजार ३ सय ७१ र उच्च माविमा २ हजार ४१ विद्यार्थी अध्ययरत छन् । अब अझ कति दिनसम्म यस्तो समस्या झेल्नु पर्ने हो भनेर अभिभावकहरू चिन्तित छन् । महोत्तरीको जनजीवन विस्तारै सामान्य बन्दै महोत्तरीको जलेश्वरमा भदौ २३ गते राती ८ बजेदेखि जारी कर्फ्यू केही खुकुलो पार्दै लगेपछि यहाँको जनजीवन विस्तारै सामान्य बन्दै आएको छ । आज पनि विहान ६ बजेदेखि दिउँसो १ बजेसम्म कर्फ्यू खुल्ला गरिएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्ले भदौ २६ गते शनिबारदेखि जिल्लाको शान्ति सुरक्षाको अवस्थामा सुधार आएकोले कर्फ्यूको समय बिस्तारै घटाउँदै लगिएको बताए ।

0 Comments