Incident Reports

दण्डहीनताको अन्त्य गर्न मानवअधिकार आयोगको आग्रह

2015-09-23

Bagmati, Lalitpur, Lalitpur, Ward 3

आमरण अनसनका क्रममा नन्दप्रसाद अधिकारीको मृत्यु भएको एक वर्षपूरा हुँदा समेत उनको शवको आफ्नो धर्म संस्कृति अनुसार अन्त्येष्टि हुन पाउने अधिकार समेत हनन् भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले असोज ६ गते विज्ञप्ति जारी गर्दै यो दुःखद घटनाका पीडित पक्षलाई न्याय दिलाउन नसक्नुलाई कमजोरी मान्दै दण्डहीनता अन्त्य गर्न आग्रह गरेको हो । 'घटनाको सम्बन्धमा सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानून बमोजिम कारबाही गर्न, पीडित परिवारलाई न्याय दिन तथा नेपाल सरकारले अधिकारी परिवारसँग गरेको प्रतिवद्धतालाई कार्यान्वयन तहमा तत्काल ल्याउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।'-आयोगकी प्रवक्ताद्वारा अस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । छोरा कृष्णप्रसाद अधिकारी हत्या प्रकरणको छानबिन हुनुपर्ने र दोषी उपर कानूनी कारबाही हुनुपर्ने माग गर्दै अनसन बसेका नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा ०७१ असोज ६ गते साँझ ५ बजेर २ मिनेटमा मृत्यु भएको थियो । लामो समयदेखि अनसन बस्दा उनकी पत्नी गंगामायाको समेत स्वास्थ्य अवस्था नाजुक बन्दै गएको आयोगको अनुगमनबाट पाइएको जनाइएको छ । आयोगले उक्त घटनाको अनुसन्धान गरी २०६४ साल चैत २३ गते दोषी पर फौजदारी अभियोगमा कारबाही चलाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन नेपाल सरकारलाई सिफारिस गरेको थियो । 'दण्डहीनताको अन्त्य गर्न र सशस्त्र द्वन्द्वकालमा भएका यस किसिमका सबै घटनाहरुको छानबिन गरी न्याय सुनिश्चित गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । कृष्णप्रसाद अधिकारी हत्या सम्बन्धमा आयोगले २०७० साउन २८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्रचार समेत गरेको थियो ।'-विज्ञप्तिमा भनिएको छ ।

0 Comments

Related Reports